हेटौंडा, आन्दोलनका कारण सेवा प्रवाह प्रभावित बनेका हेटौंडा उपमहानगरपालिकाका तीन वटा वडा कार्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले कम्प्युटर हस्तान्तरण गरेको छ। वडा नं. १९, ३ र ११ मा सेवा सहज र सुचारु पार्ने उद्देश्यले प्रत्येक वडा कार्यालयलाई कम्प्युटर प्रदान गरिएको हो। आन्दोलनका कारण कार्यालयको नियमित कार्य अवरुद्ध भएका बेला गरिएको यो सहयोगलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले भने–‘हाम्रो संस्था सदैव समाज र नगरप्रति उत्तरदायी रहँदै आएको छ। आन्दोलनबाट प्रभावित सेवाहरूलाई छिट्टै पुनः सञ्चालन गर्न र डिजिटल कार्यप्रणाली सहज बनाउन कम्प्युटर हस्तान्तरण गरेका हौँ। यो सानो हातेमालोले सेवा प्रवाहलाई मात्र सहज बनाउने होइन, अन्य संस्थालाई पनि समाजप्रति उत्तरदायी बन्न प्रेरित गर्नेछ।’
वडा नं. १९ का अध्यक्ष नरनाथ सुवेदीले सहयोगलाई ‘अत्यन्तै राहतदायी’ भन्दै नागरिकलाई छिटोछरितो सेवा दिन कम्प्युटर अपरिहार्य भएको बताए।
वडा नं. ३ का अध्यक्ष ढलक बहादुर थापाले आन्दोलनले दैनिक प्रशासनिक काम प्रभावित पारेको अवस्थामा समुदायको हातेमालो प्रशंसनीय भएको उल्लेख गर्दै, कम्प्युटरले सेवा प्रवाहलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गरे।
वडा नं. ११ की अध्यक्ष जुना दाहालले विपत् वा असहज परिस्थितिमा हातेमालो गर्दै अघि बढ्नुपर्ने सन्देश कार्यक्रमले दिएको बताइन्। उनका अनुसार कम्प्युटर प्रयोगमार्फत वडा स्तरमै डिजिटल सेवा विस्तार गर्ने योजना रहेको छ। कार्यक्रममा उपस्थित स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा नागरिक समाजका सदस्यहरूले टोल विकास संस्थाको कदमलाई स्वागत गरेका थिए। उनीहरूले सामाजिक संघ–संस्था र नागरिकले नगरप्रति आफ्नो दायित्व बुझेर योगदान गर्नुपर्नेमा जोड दिएका थिए।
टोल विकास संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। टोल विकास संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।







