हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही सिक्नु भएको कुराहरूलाई विद्यार्थीहरूले विभिन्न खेलमार्फत प्रस्तुती दिएका थिए । वर्षमा दुईचोटी आयोजना हुने एक्जिट कार्यक्रम शैक्षिक सत्र २०८१ को लागि यो दोस्रो कार्यक्रम रहेको कक्षा १ की शिक्षिका इशा अधिकारीले जानकारी दिइन् ।

उक्त थिममा वृक्षारोपण, डोनेसन, सामाजिक सेवा र सरसफाई गरी ४ वटा कुराहरु समावेश रहेको कक्षा १ मा अध्यापन गराउने शिक्षिका अस्मिता लामाले जानकारी दिइन् । गत भदौँ महिनामा म र मेरो परिवार थिममा रही एक्जिट कार्यक्रम भएको थियो । कार्यक्रममा कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूले कथा स्टेशन, लेख स्टेशन, कथा स्टेशन, अनुभव स्टेशन, हात धुने स्टेशन, ब्रसिङ स्टेशन, आर्ट स्टेशन, खेल स्टेशन मार्फत अवलोकनमा आउनुभएका अभिभावक तथा अतिथिलाई स्टेशनको बारेमा जानकारी गराएका थिए । कक्षा १ मा अध्यापन गराउने शिक्षिका ईश्वरी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १ मा अध्ययनरत विद्यार्थीले स्टेज प्रस्तुत गर्नुका साथै कक्षा १ का विद्यार्थीहरूले गायन तथा नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले मपेट पेपेट मार्फत कथा प्रस्तुत गरेका थिए भने विद्यार्थीले रचना गरेका कथा, कविता पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका अभिभावक मुना आचार्य पाठकले भनिन् –‘अरु विद्यालय भन्दा नवोदय पृथक छ । विद्यालयमा अध्यापन गराएर आफ्ना नानीबाबुहरूको व्यक्तिगत विकास भएको छ ।’ कार्यक्रममा ऊँ वृद्धाश्रम चौकीटोलका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, प्राथमिक तह शैक्षिक संयोजक सचिता पाण्डेलगायतको आतिथ्यता रहेको थियो । कक्षा १ का सम्पूर्ण विद्यार्थीहरूको सहभागितामा कार्यक्रम भएको थियो ।






