हेटौँडा, जेनजी समूहको आन्दोलनका क्रममा क्षति पुगेको हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालय बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालयले सेवाप्रवाह पुनः सुरु गर्नसँगै क्षतिको विवरण सार्वजनिक गर्दै चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरेको हो।
वडाध्यक्ष नवीन सिग्देलका अनुसार आगजनीबाट पाँच थान कम्प्युटर, सात थान स्क्यानर र प्रिन्टर, दुई थान ल्यापटप, एक मोटरसाइकल, दराज, टेबल, कुर्सी, फ्रिज, सोफा र बायोमेट्रिक्स मेसिन पूर्णरूपमा नष्ट भएका छन्। यस्तै प्रशासन, लेखा र योजना विभागका फाइलसहितका कागजात पनि जलेर सम्पूर्ण रूपमा नष्ट भएको छ।
“देशैभरि भएको क्षति दुःखद छ। वडा कार्यालय र स्वास्थ्य कार्यालयमा भएको आगजनीले सेवा प्रवाह प्रभावित भएको छ। शून्य अवस्थाबाट पनि छोटो समयमा न्यूनतम आवश्यक स्रोत–साधन जुटाएर सेवामा फर्किएका छौँ,’’ वडाध्यक्ष सिग्देलले बताउनुभयो।
कार्यक्रममा वडाध्यक्षसँगै स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो।






