हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाको सहयोग एवम् विकासका लागि अभियान नेपालको आयोजनामा हेटौंडामा तीन महिने लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो । लोकसेवा कक्षाको उद्घाटन गर्दै उनले मेहनत र लगनशिलताले सफलताको ढोका खुल्ने बताइन् । उनले अन्य जिल्लाको जस्तै यहाँका युवाहरुले पनि लोकसेवामा अव्वल बन्न सक्ने आधार प्रस्तुत गर्न सहभागीलाई सुझाव दिइन्। तीन महिने तालिम पछि अझै मेहनत गर्ने इच्छा सहभागीहरुमा रहे उपमहानगरले थप सहयोग गर्ने लामाले प्रतिबद्धता जनाइन्।
हेटौंडामा रहेर विभिन्न कलेजहरुमा अध्यापनमा रहेका १ सय जना लोकसेवा अध्ययनमा इच्छा भएकाहरुको तालिममा सहभागिता रहेको छ । उनीहरुलाई ५०/५० जनाको संख्यामा भाग लगाएर गैरसरकारी संस्था महासंघको भवनमा अध्यापन गराउने तयारी रहेको आयोजकले जनाएको छ । विकासका लागि अभियान नेपालका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, प्रशिक्षक राज गौतम लगायतको आतिथ्यता थियो । तालिममा दुईजना प्रशिक्षकको व्यवस्थापन गरएको कार्यक्रम संयोजक नवराज पौडेलले बताए । उनका अनुसार सहभागीलाई प्रशिक्षक गौतम र अमृत घिमिरेले सहजीकरण गर्नेछन् ।







