पालुङ जेसीजको अध्यक्षमा सन्जय गोपाली पदस्थापित

हेटौँडा, पालुङ जेसीज वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष सन्जय गोपाली पदस्थापित हुनुभएको छ। मंगलबार आयोजित विशेष पदस्थापन समारोहमा गोपालीले औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो। समारोहमा जेसीजका वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले नव–निर्वाचित अध्यक्ष गोपालीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो। साथै, उहाँले अध्यक्ष गोपालीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो भने अध्यक्ष गोपालीले वर्ष २०२६ का सम्पूर्ण पदाधिकारीहरूलाई सपथग्रहण गराउनुभएको थियो।

वर्ष २०२६ का लागि पालुङ जेसीजको कार्यकारी उपाध्यक्षमा अजय कार्की र प्रकाश चन्द ठकुरी, उपाध्यक्षमा बिश्वराम पौडेल, नविना बिष्ट, कमल बिष्ट र राधाकृष्ण लामिछाने सर्वसम्मत निर्वाचित भएका थिए । अध्यक्ष गोपालीले महासचिवमा अन्जय प्रधान र कोषाध्यक्षमा उद्दव बिडारीलाई मनोनित गर्नुभएको छ। कार्यक्रमकै अवसरमा वर्ष २०२५ मा पालुङ जेसीजका पदाधिकारीहरू तथा संस्थालाई सहयोग पुर्‍याउने विभिन्न संघ–संस्थाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले युवाहरू नै राष्ट्र र समाजको भविष्य भएको उल्लेख गर्नुभयो। उहाँले युवाको नेतृत्व क्षमता विकासमा पालुङ जेसीजले खेलेको भूमिकाको प्रशंसा गर्दै नेतृत्व, सीप, सामाजिक उत्तरदायित्व र सकारात्मक सोच विकासमा जेसीजजस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा हेटौँडा जेसीज वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, मकवानपुरगढी जेसीजका अध्यक्ष इरोन न्यौपाने, चैनपुर जेसीजका अध्यक्ष आशिष बास्तोला, बसामाडी जेसीजका अध्यक्ष दिपेन्द्र यादव, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरू खड्ग गोपाली, सानोभाइ कार्की लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *