हेटौंडा, गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ख का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धन र यसमा आबद्ध दलको बीचमा कुनै समस्या नरहेको र जनताले समेत गठबन्धनप्रति आशा गरेकोले मकवानपुरका ६ जनै उम्मेदवारले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् ।
चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ विरोधीहरुले कुनै एजेण्डा नपाएर जनतालाई भ्रममा पार्ने अनेक दुस्प्रयास गरिरहेका छन् । न नेपाली कांग्रेसभित्र कुनै समस्या छ, नत गठबन्धन दलको बीचमा नै । गठबन्धनका ६ जना नै उम्मेदवारलाई जिताउने गरी जिल्ला नेतृत्व र आम नेता कार्यकर्ता एकढिक्का भएर लागेका छन् । जनताले समेत हामीलाई साथ दिएको अवस्थामा विरोधीहरु अत्तालिएका छन् ।’
उनले गठबन्धनका उम्मेदवार नेताहरु चुनाव अघि पनि मकवानपुरका जनताको साथै रहेको र अहिले पनि साथै रहेको जानकारी दिए । ‘म गत स्थानीय निर्वाचनमा हेटौंडाको मेयर पदमा झिनो मतले पराजित भएको भोलीपल्टबाटै जनताको सुखदुःखमा साथै छु । आगामी दिनमा पनि यहाँहरु संगै रहनेछु’, पराजुलीले भने, ‘डिना उपाध्यायको प्रतिनिधिको रुपमा हामी कांग्रेसका नेताहरु जिल्लामा सक्रिय थियौं, वहाँ केन्द्रमा हाम्रा एजेण्डा पूरा गर्न लागिपरिरहनुभएको थियो । तसर्थ संघमा डिना उपाध्यायलाई र प्रदेश क मा प्रेमबहादुर पुलामी छिन्तु र ख मा मलाई मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।’
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली आशा, नेकपा एसका नेता घनप्रसाद गौतम, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेकपा एसका समानुपातिक उम्मेदवार कल्पना विश्वकर्मा लगायतका नेताहरुले गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मतान्तर बढाउन लाग्नुपर्ने धारणा राखेका थिए ।







