हेटौँडा , मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारणसभा बिहीबार हेटौँडामा भएको छ। उक्त साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सञ्चालन गरिएको हो।
प्राधिकरणले हालै सहकारी संस्थाहरुलाई साधारणसभामा गैरसदस्य व्यक्ति वा पदाधिकारीलाई निमन्त्रणा नगरी उद्घाटन सत्र, आसन ग्रहण वा अतिथिको मन्तव्यजस्ता औपचारिक कार्यमा समय व्यतीत नगरी सिधै छलफल एजेन्डामा प्रवेश गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मकवानपुर जिल्ला सहकारी संघले यस वर्षको साधारणसभा औपचारिकताभन्दा बढी कार्यकेंद्रित छलफलमुखी शैलीमा सम्पन्न गरेको अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिए।
साधारणसभामा अध्यक्ष देवकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने लेखा समितिको प्रतिवेदन संयोजक खेमराज सापकोटाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विमलकुमार ढकालले प्रस्तुत गरेका थिए। संघले आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग सहकार्य गर्दै पशुआहारा दानाको व्यवसाय सञ्चालन गरेको जनाएको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभित्रका क्रियाशील सहकारी संस्थाहरुलाई संघमा आबद्ध गराई सदस्यता विस्तार गर्ने, छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष देवकोटाले बताए।
कार्यक्रमका क्रममा सहकारी एकीकरण गरी क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पु-याएका चार सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो। सम्मानित संस्थाहरुमा मन्थली कृषि सहकारी संस्था लिमिटेड बकैयाँ–१०, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड थाहा–६, मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडा–४ र सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मनहरी–८ रहेका छन्।
संघले चेतनशिल दुग्ध उत्पादक सहकारी संस्था, वनदेवी दुग्ध उत्पादक सहकारी संस्था, नारायणी दुग्ध उत्पादक सहकारी संस्था, श्रमिक दुग्ध उत्पादक सहकारी संस्था, सानाकिसान कृषि सहकारी संस्था मनहरी र माहाकालि दुग्ध उत्पादक सहकारी संस्थालाई पनि सम्मान गरेको छ ।
साधारणसभामा प्रदेश सहकारी संघ लिमिटेडका सञ्चालक तथा जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद कँडेललगायतको आतिथ्य रहेको थियो।






