हेटौंडा, बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालमा गरेको कार्य विवरण सार्वजनिक गरेकी छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोक्तानले दोस्रो कार्यकालको हालसम्म भएका प्रगती विवरण सार्वजनिक गरेकी हुन् ।
मन्त्री मोक्तानले यस अवधिमा सामुदायिक माध्यमिक विद्यालयमा “विद्यालय बस“ खरिदको व्यवस्था गरी शिक्षामा पहुँच र गुणस्तर सुधारमा सहयोग प्रदान गरिएको बताइन् । माध्यमिक तहमा शून्य दरबन्दी रहेका २ सय ७७ सामुदायिक वटा माध्यमिक विद्यालयहरूलाई एक÷एक जना माध्यमिक तहको शिक्षक बराबरको अनुदान उपलब्ध गराइएको तथा कृषि तथा पशु विज्ञान अध्ययन गराउने सामुदायिक माध्यमिक विद्यालयहरूलाई शैक्षिक पूर्वाधार विकासमा सहयोग प्रदान गरिएको मन्त्री मोक्तानले बताइन् ।यस्तै, प्रदेशका ३६ वटा सामुदायिक माध्यमिक विद्यालयमा “सिक्दै कमाउँदै, कमाउँदै सिक्दै” कार्यक्रम कार्यान्वयन भएको समेतको उनको भनाइ छ ।
यस्तै, बाल सूधार गृहका ९० जना बालबालिकाहरुलाई जीवनपयोगी सीपयुक्त तालिम सञ्चालन गरिएको बताइएको छ भने स्थानीय तहका महिला तथा बालबालिका शाखाका जनशक्तिको लागि अभिमुखीकरण तथा समीक्षा कार्यक्रम गरिएको मन्त्री मोक्तानले बताइन् । प्रदेशमा रहेका ११९ स्थानीय तहमध्ये ३५ वटा स्थानीय तहसँगको साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, खेल क्षेत्रमा रंगशाला निर्माण, अन्तर प्रदेश खेलकुद प्रतियोगिता, खेलाडि सम्मान तथा नयाँ खेलाडि उत्पादन जस्ता कार्यहरु सम्पन्न भएको मन्त्री मोक्तानको दाबी छ ।






