प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता पुरस्कार घोषणा

हेटौँडा, नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाट कार्यक्रमका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् ।

ADVERTISEMENT

उनको घोषणासँगै यस पुरस्कार मकवानपुरे पत्रकारिता क्षेत्रमा सर्वाधिक नगद राशीको पत्रकारिता पुरस्कार हुने भएको छ । यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको थियो । यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन् । भेटघाटका क्रममा प्रायोजक ढकालले पत्रकारहरुलाई संगठित हुँदै व्यावसायिक नेतृत्व विकासमार्फत युनियनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिकाको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए। प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले पत्रकारिता पुरस्कारको राशी क्रमश बढाउँदै लैजानलाई समेत आग्रह गरेका छन् ।

‘मकवानपुरको पत्रकारिता क्षेत्रमा यो एक ऐतिहासिक क्षण हो । पत्रकारितालाई मुल पेशा बनाई आफ्नो कर्ममा निरन्तर लागिरहेका मकवानपुरका पत्रकारहरुलाई नगद ५० हजार सहित सम्मान गर्न पाउनु हामी युनियनकर्मीका लागि समेत गर्वको विषय हो ।’, युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले भने, ‘यसले पत्रकारिता क्षेत्रमा लागिरहेकालाई प्रोत्साहन गर्ने र संस्थागत विकासमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका छौं । साथै, यो पुरस्कार प्रेस युनियन मकवानपुरको मात्र नभई तमाम मकवानपुरे पत्रकारहरूको पुरस्कार हुनेछ ।’

युनियनले यस पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने अध्यक्ष बिडारीले जानकारी दिए । ‘युनियनले स्थापना गरेको अझै तीनवटा पुरस्कार हामीसँग रहेको छ । हामी अन्य तीनवटा पुरस्कारलाई साधारणसभा र अधिवेशनको समयमा वितरण गर्नेछौं भने । यस सम्मानलाई विशेष कार्यक्रमको आयोजना गरी वितरण गर्नेछौं । यसका लागि संस्थाले आन्तरिकरुपमा कार्यविधि निर्माण गर्नेछ ।’, अध्यक्ष विडारीले पुरस्कार मकवानपुरे पत्रकारलाई विशेष प्राथमिकतामा राखेर वितरण गरिने बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *