हेटौंडा, हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताको उपाधीको लागि हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका भिड्ने भएको छ ।
विहीबार भएको सेमिफाइनल खेलमा बागमती गाउँपालिकालाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै मकवानपुरगढी फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा २ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाको गोल रक्षक अमर गोले म्यान अफ द म्याच घोषित भए । भीमफेदी गाउँपालिकालाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिका फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको फाइनल खेल चैत ११ गते शनिबार हुनेछ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हेटौंडाको पिप्ले क्याम्पा
रंगशालामा जारी छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।







