हेटौँडा, मनहरी ५ रुन्चेडाँडामा रहेको मदन आश्रित प्राथमिक विद्यालयलाई चैनपुर जेसीज मनहरीले स्टेसनरी सामग्री वितरण गरेको छ । जेसीज सप्ताह २०२५ को दोस्रो कार्यक्रम अन्तर्गत सोमबार एक कार्यक्रमका बीच स्टेसनरी सामग्री वितरण गरेको हो ।
कार्यक्रम संयोजक राजकुमार उप्रेतीको संयोजकत्व एवम् शाखा अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पम्फा बस्नेत, विद्यालयका प्रधानाध्यापक दीपक पौडेल, जेसीज सप्ताह मुल कार्यक्रम संयोजक समेत रहेका कार्यकारिणी उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । विशेषगरी जनजाति र विपन्न समुदायका बालबालिका अध्ययनरत विद्यालयमा ५५ जना विद्यार्थी रहेका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्नेतले विद्यालयको अवस्था जीर्ण रहेको र विपन्न समुदायका बालबालिका अध्ययनरत रहेकोले अन्य संघसंस्था संग समेत सहयोगको अपेक्षा गरिन् । प्रमुख अतिथि मनहरी ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले स्थापनाकाल देखि नै जेसीजसंगको सहकार्य गर्दै आएको स्मरण गर्दै जेसीजले गरेको सहयोगले बालबालिकाको पढाईमा सहयोग मिल्ने विश्वास व्यक्त गरे । विद्यालयको शैक्षिक र भौतिक विकासको निम्ति वडा कार्यालयले गर्नुपर्ने सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए । कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य कुमार स्याङ्तान, सुनिता थिङलगायको आतिथ्यता रहेको थियो ।
मंगलबार महेन्द्रकिरण मावि मनहरी ८ मा वक्तृत्वकला, २९ गते बिहान जेसीज सदस्यको बीचमा जेसीजकै विषयमा हाजिरिजवाफ प्रतियोगिता, सोही दिन ईलाका प्रहरी कार्यालय मनहरीमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण र ३० गते मनहरी ४ मा विस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता हुनेछ । चैनपुर जेसीज मनहरीले स्थापनाकालदेखि नै जेसीज कप फुटबल सँगसँगै जेसीज सप्ताह आयोजना गर्ने गरेको छ ।






