हेटौँडा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शनिबार मकवानपुरका अगुवा कार्यकर्तासँग भेटघाट गरेका छन्। हेटौँडा–४ भैरवरोडस्थित पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष नेपालले आगामी चुनावका तयारीका लागि निर्देशन दिएका हुन्।
कार्यक्रम पार्टी जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा अध्यक्ष नेपालले देश विषम परिस्थितिमा रहेको बताउँदै सिंगो नेपाली जनतालाई चनाखो रहन आग्रह गरे।
उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा अन्य शक्तिहरूले घुसपैठ गरी देशका महत्वपूर्ण संरचनामा आगजनी, तोडफोड र मानिस मार्ने जस्ता कार्य गरेको भन्दै ती घटनाहरू अत्यन्त निन्दनीय रहेको बताए। आन्दोलनका क्रममा ज्यान गुमाउने विद्यार्थी र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले जेन्जीहरूका जायज माग पूरा हुनुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले केपी ओलीको घमण्डका कारण देश विषम अवस्थामा पुगेको टिप्पणी गर्दै, “देश यस्तो अवस्थामा पुगे पनि ओलीको दम्भ घटेको छैन,” भने। साथै, पार्टी एकताको विषयमा मसिनो ढंगले गृहकार्य भइरहेको जानकारी पनि दिए।
भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय उपमहासचिव रामकुमार भट्टराई, स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सल्लाहकार यादव गजुरेल, प्रदेश सदस्य माधव तिमल्सिना, जिल्ला सचिव किशोर बर्तौला, युवा नेता किशोर टण्डनलगायतको उपस्थिति रहेको थियो।







