विनयबाबु स्मृति भलिबल प्रतियोगिता : तमु, ड्रिमर्स र आयोजक सेमिफाइनलमा

हेटौँडा, उत्तरी मकवानपुरको थाहा नगरपालिका–२ फाटबजारमा जारी आठौँ विनयबाबु स्मृति भलिबल प्रतियोगितामा तमु बहुउद्देश्यीय, ड्रिमर्स थाहा ४ र आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ADVERTISEMENT

आज भएको पहिलो क्वार्टरफाइनल खेलमा तमु बहुउद्देश्यीयले राम्चे सल्लेलाई २६–२४ र २५–१२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । उक्त खेलमा तमुका विवेक माझी ‘म्यान अफ द म्याच’ घोषित भए । आज भएको दोस्रो क्वार्टरफाइनलमा ड्रिमर्स थाहा ४ ले बज्रवाराही खेलकुद विकास समिति ‘बी’ लाई २५–१८ र २५–२१ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा राजिव लामिछाने ‘म्यान अफ द म्याच’ घोषित भए ।

आज भएको तेस्रो खेलमा आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । पहिलो सेट २५–२३ ले उन्युचौर आग्रासँग पराजित भएको आयोजक टीमले दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२२ र १५–७ को नतिजा निकाल्दै जित हात पारेको थियो । उक्त खेलमा प्रवेश कार्की ‘म्यान अफ द म्याच’ बने ।

क्वार्टरफाइनलको अन्तिम खेल कार्तिक ४ गते बिहान ७ बजे साविक विजेता मङ्गलेश्वर युवा क्लब र बज्रवाराही खेलकुद विकास समिति ‘ए’ बीच हुने आयोजकले जनाएको छ । उक्त खेलपछि सेमिफाइनलको पूर्ण समीकरण तय हुनेछ । प्रतियोगिताको फाइनल खेल पनि कार्तिक ४ गते नै हुने बताइएको छ । थाहा नगरपालिका मेयर विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम हुने आयोजकले जनाएको छ ।

१२ टिमको सहभागिता रहेको प्रतियोगितामा उपाधि विजेता टीमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २८ हजार ८ सय ८८, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा तेस्रो र चौथो स्थान हासिल गर्ने टीमलाई पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।

Advertisement 5

गत वर्षको सातौँ र छैटौँ संस्करणमा मङ्गलेश्वर युवा क्लबले लगातार उपाधि जितेको थियो । यस पटक पनि मङ्गलेश्वरले उपाधि जितेमा रनिङ शिल्ड कब्जा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *