हेटौंडा, विहीबारबाट हेटौंडामा एक महिने गार्मेण्ट बेसिक तालिम शुरु भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक महिने गार्मेण्ट बेसिक तालिम हेटौंडामा सुरु भएको हो ।
‘बढ्दो बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरेका हौँ।’ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष मेनका श्रेष्ठले भनिन् –‘हेटौंडा उपमहानगरपालिकाले रोजगारीको सुनिश्चितता गर्ने र तालिम प्राप्त प्रशिक्षार्थीहरुले न्यूनतम ३ वर्ष उपमहानगरपालिकाले उपलब्ध गराउने सेवा सुविधाको साथमा काम गर्ने सम्झौता भएको छ ।’
प्रशिक्षक अनोज परियारले प्रदान गर्ने तालिममा १० जना विद्यार्थीहरुको सहभागीता रहेको छ । नेपाल कपडा तथा तयारी पोशाक मकवानपुरका अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा अध्यक्ष सुशिल घिमिरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो ।







