हेटौंडा/सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मुलुकको विकास र स्थायित्वका लागि गठबन्धनले जित्नुपर्ने बताएकी छन् ।
मंगलबार हेटौंडा–१२ मा भएको गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटनमा उनले सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई विकास र समृद्धि दिनसक्ने बताएकी हुन् ।
नेपाललाई यो अवस्थासम्म ल्याउन गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपालले भूमिका खेलेको स्मरण गर्दै उनले भनिन्, ‘मुलुको विकास र समृद्धिका लागि यो गठबन्धन बनेको हो । केपी ओलीको निरंकुसता र उनले पटक पटक संसद् विघटन गर्दै जनमतमाथि प्रहार गरेपछि मुलुक जोगाउन कांग्रेस, माओवादी, नेकपा एस लगायतका दलहरु एक भएका हुन् ।’ डिनाले मंसिर ४ को निर्वाचनलाई भविष्यसंग जोडेर हेर्न र सत्तारुढ गठबन्धनलाई जिताउन आग्रह गरिन् ।
देश विकासको लागि लोकतान्त्रिक–वाम गठबन्धनले जित्न जरुरी रहेको उनको भनाई थियो । निर्वाचनपश्चात कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने दावी गर्दै उनले जनताको सुखदुःखमा साथै रहनका लागि प्रत्यक्षतर्फ निर्वाचनमा सहभागी भएको जानकारी दिइन् । उनले सत्तारुढ गठबन्धनको उम्मेदवारहरुको जीत सुनिश्चित भइसकेपनि जनतामाझ आफ्नो एजेण्डा सुनाउनको लागि गाउँगाउँ पुगिरहेको सुनाइन् ।
यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीले गठबन्धनबाट जितेपछि कसैलाई पनि विभेद नगर्ने बताए । उनले गठबन्धनका उम्मेदवार सबै राजनीतिक दल र जनताको साझा रहेकोले साझा नै भएर काम गर्ने दोहो¥याए । पराजुलीले स्थानीय आवश्यकता अनुसार विकासको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले गठबन्धनले जिते हेटौंडामा नै प्रदेशस्तरिय स्वास्थ्य शिक्षण अस्पताल खोल्ने पनि बताए ।






