साहित्य सङ्गमको नियमित सन्ध्यामा कवि भूपिन र शर्मा सम्मानित

हेटौँडा, साहित्य सङ्गम मकवानपुरले आयोजना गरेको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टालाई सम्मान गरिएको छ। शनिबार हेटौँडामा सम्पन्न कार्यक्रममा डम्बर–पूर्णमाया स्मृति सम्मान अन्तर्गत कवि, गीतकार तथा आख्यानकार भूपिन र कवि एवं समालोचक डा. बिन्दु शर्मालाई सम्मान गरिएको हो।

ADVERTISEMENT

२०८० सालको ‘डम्बर–पूर्णमाया स्मृति कविता सम्मान’ कवि भूपिनलाई र २०८१ सालको लागि समालोचक डा। शर्मालाई प्रदान गरिएको हो। उनीहरूलाई जनही नगद २२,२२२ सहित सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष डा. निमेश निखिलले सम्मान गर्नु भएको हो । उक्त पुरस्कार कवि जेनन नेपालले आफ्ना हजुरबुवा डम्बर नेपाल र हजुरआमा पूर्णमायाको सम्झनामा स्थापना गर्नुभएको हो।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर चुनियाका लेखक राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रहको विमोचन पनि गरिएको थियो। कृतिले काठमाडौंका विभिन्न क्षेत्रबारे जानकारी दिनुका साथै पदयात्रासँग स्वास्थ्य र पर्यटनलाई जोड्ने प्रयास गरेको लेखक बर्तौलाले बताए। साझा प्रकाशनद्वारा प्रकाशित उक्त कृतिबारे समीक्षक रामबाबु पहाडीले परिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका डा. निखिलले ‘काठमाण्डु प्याराडाइज’ लाई काठमाडौं ट्रेकिङका लागि उपयोगी गाइडबुकको रूपमा उल्लेख गर्नुभयो। कार्यक्रममा कवि जेनन नेपालले आफ्ना पाँच वटा कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकार सुवास खनालसहित विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साहित्य सङ्गम मकवानपुरको हालै सम्पन्न १७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिको पहिलो कार्यक्रम पनि हो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *