हेटौँडा, मकवानपुरको ऐतिहासिक र प्रतिष्ठित भुटनदेवी माध्यमिक विद्यालयबाट अनिवार्य अवकाशपछि बिदाई हुनुभएका विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहाललाई आज विद्यालयमा बिदाई गरिएको छ।
विद्यालय व्यवस्थापन समिति र शैक्षिक गुणस्तर सुधार समितिले संयुक्त रुपमा दाहाललाई ३५ वर्ष विद्यालयको शैक्षिक उन्नयन, भौतिक सुधार र समग्र विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान प्रदान गरिएको थियो। सोही अवसरमा विद्यालयका निमित्त प्रधानाध्यापकका रूपमा नियुक्त सूर्यप्रसाद घिमीरेलाई बधाई र शुभकामना पनि दिइएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले विद्यालयको समग्र शैक्षिक उन्नयन, भौतिक सुधार र समग्र विकासमा पुर्याएको योगदानको कदर गर्दै दाहालको उल्लेखनीय प्रशंसा गरेका थिए । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले मकवानपुर जिल्लाको शैक्षिक क्षेत्रमा दाहालको लामो सेवा प्रेरणादायी रहेको बताउँदै कदरपत्र प्रदान गरी सम्मान व्यक्त गरे। कार्यक्रममा वक्ताहरूले निवृत्त प्राचार्य दाहालको सेवाभाव, समर्पण र नेतृत्व क्षमताको प्रशंसा गर्दै आगामी जीवनका लागि सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।
बिदाई समारोहमा दाहालले भने –“विद्यालय मेरो मुटु हो, म बिर्सन सक्दिन। मलाई माया गर्नुहुनेले विद्यालयको शैक्षिक विकासमा योगदान दिनुहोस् ।’






