हेटौँडा, नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिको आयोजनामा चौतारीका संस्थापक सदस्य स्व. प्रभास घिमिरेको प्रथम स्मृति दिवसको अवसरमा ‘प्रभास घिमिरे : सम्झना र सिर्जना’ नामक स्मृति ग्रन्थ लोकार्पण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
स्मृतिग्रन्थ प्रकाशन र अक्षयकोष स्थापनाबारे चौतारीका संरक्षक दीपक गौतमले प्रकाश पारेका थिए भने संप्रस पौडेलले प्रभासका रचनासङ्कलन, सम्पादन तथा सिस्नुपानी नेपाल मकवानपुरका कार्यक्रमहरूमा उनका प्रस्तुतिबारे चर्चा गरे। त्यसैगरी डा. निमेष निखिलले स्मृति ग्रन्थबारे टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यक्रममा जनार्दन खनाल, डिबी बर्तौला, कृतिका लौडारी, स्वस्तिका दाहाल, रचना भण्डारी, प्रबिना प्रयासी, स्वस्तिका बानियाँ र सुन्दर कँडेललगायत स्रष्टाहरूले स्मृतिग्रन्थभित्र समावेश प्रभासका कविता, गजल, मुक्तक र हास्यव्यङ्ग्य रचना वाचन गरेका थिए।
कार्यक्रमकै सन्दर्भमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, ४ नं. वडाध्यक्ष नवीन सिग्देल र ११ नं. वडाअध्यक्ष जुना दाहालले अक्षयकोष स्थापनामा विशेष योगदान गर्ने प्रतिबद्धता जनाएका थिए। सहभागी व्यक्ति तथा संस्थाहरूबाट करिब १ लाख रुपैयाँ बराबरको रकम सङ्कलन भएको अध्यक्ष लौडारीले जानकारी दिइन्।
२१ वर्षकै उमेरमा साहित्यिक यात्रामा सक्रिय प्रभास घिमिरेको गत वर्ष २०८१ कात्तिक २१ गते भारतको वृन्दावन यात्रा क्रममा लखनउमा सवारी दुर्घटनाका कारण निधन भएको थियो। छन्द कविता, हास्यव्यङ्ग्य, प्रहसन तथा धार्मिक प्रवचनका क्षेत्रमा उदीयमान प्रतिभाका रूपमा रहेका प्रभासको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापना अभियान सुरु गरिएको चौतारीका संरक्षक दीपक गौतमले बताए।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ४ नं. वडाध्यक्ष नवीन सिग्देल, ११ नं. वडाअध्यक्ष जुना दाहाल, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमलगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा प्रभासकी माता पार्वती घिमिरे, पिता वृहस्पति घिमिरे, परिवारजन, परमानन्द संस्कृत गुरुकुलम् देवघाटधामका गुरुजन, आफन्तजन तथा मकवानपुरका साहित्यिक, सांस्कृतिक संघ–संस्थाका प्रतिनिधिसहित करिब १२५ जनाको उपस्थिति रहेको थियो।







