हेटौँडा, हेटौँडा बजार क्षेत्रमा लामो समयदेखि रोकिँदै आएको सडक विस्तार कार्य मङ्सिर २० गतेदेखि सुरु हुने भएको छ। विस्तार कार्यलाई सहज बनाउन सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले बिहीबारदेखि रेखांकन र रङ लगाउने काम सुरु गरेको हो।
कार्यालयका अनुसार मार्किङ कार्य हेटौँडा–१५, रातोमाटेबाट सुरु गरिएको छ। यसअघि डिभिजन सडक कार्यालयले मङ्सिर ५ गते १५ दिने सूचना जारी गरेको थियो, जसको अवधि मङ्सिर १९ गते सकिँदै छ। सो अवधि भित्र संरचना नहटाएमा मङ्सिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तार अघि बढाइने जानकारी डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले दिएका छन्। उनका अनुसार चारवटा स्थानबाट एकैपटक डोजर चलाइने छ। अतिक्रमित संरचना हटाउने कार्य सुरु भएपछि बजार क्षेत्रको मुख्य सडकमा सवारीसाधन आवागमन रोकिने र सर्वसाधारणले बाइपास सडक प्रयोग गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालय हेटौँडाले जनाएको छ।
यही कार्यलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष टास्क फोर्स गठन गरेको छ। इन्जिनियर यादव सुवेदी संयोजक रहेको समितिमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधि राखिएका छन्। टास्क फोर्सले बुधबारदेखि माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार विस्तार कार्यका क्रममा विद्युत्, खानेपानी, दूरसञ्चारलगायतका सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ। उनले हेटौँडा प्रदेश राजधानी भएकाले यसलाई सुन्दर, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्न सडक विस्तार अत्यावश्यक रहेको बताए। उनका अनुसार एडिबी ९ब्म्द्य० बाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले काम कुनै हालतमा नरोकिनेछ।
डिभिजन सडक कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक खण्डमा सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने सबै संरचना १५ दिनभित्र हटाउन आग्रह गरेको छ। सूचना अवधि सकिएपछि संरचना बलपूर्वक हटाइने कार्यालयले चेतावनी दिएको छ।






