हेटौंडा, ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लवलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव मकवानपुरको फापरबारीमा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा एपिएफले मछिन्द्रलाई १–० गोलले हराएको हो ।
खेलको १४ औं मिनेटमा गरेको गोल नै एपिएफको लागि पर्याप्त बन्यो । मणि लामाको फ्रिकिक मछिन्द्रका पेर्रे म्याभीलाई लाग्दै गोलमा परिणत भएको थियो । लामाले प्रहार गरेको बल म्याभीको टाउकोमा लाग्दै गोल भएको हो । खेलको सुरुवातीमै पछि परेको मछिन्द्रले खेलभर निकै दवाव खेपेको थियो । खेलको ४२ औं मिनेटमा एपिएफले अग्रता दोब्बर पार्ने मौका गुमायो । एपिएफको प्रहार बारमा लागेर बाहिरिएको थियो । ५५ औं मिनेटमा मछिन्द्रले बराबरी गोल गर्ने मौका खेर फाल्यो । टिम्बा टिम्बाको वान भर्सेस वान प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाएका थिए । खेलको अन्तिमतिर मछिन्द्रको करिब आधा दर्जन प्रहारलाई एपिएफका गोलरक्षक श्रेष्ठले निष्तेज पारेका थिए ।
एपिएफका मणि लामा नै खेलको म्यान अफ द म्याच भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा आज बिहीबार भुट्निज स्पोर्टस् क्लव अमेरिका र हिमालयन शेर्पा क्लवबीच खेल हुनेछ । माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता हुँदै आएको हो ।