हेटौँडा, जनप्रिय मावि ५०औँ वर्ष पूरा गरेको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा तुलसीमेहर मेमोरियल मावि प्रथम भएको छ । स्वर्ण महोत्सव कार्यक्रमअन्तर्गत स्व. मोहनचन्द्र चौलागाईँ स्मृति रनिङ्शिल्ड हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय माविको आयोजना र रेडक्रस हटिया उपशाखाको प्रायोजनमा सञ्चालन भएको हो ।
प्रतियोगितामा तुलसीमेहर मेमोरियल माविका दीप्ती क्षेत्री र रेमिन्स ढुङ्गानाको टोली प्रथम, हेटौँडा एकेडेमीका आध्या भट्टराई र ज्वनिस्मा बिडारी द्वितीय तथा ज्योति माध्यमिक विद्यालयका प्रतिष्ठा श्रेष्ठ र रोहित घर्ति मगर तृतीय भएका छन्। प्रतियोगिता बहुवैकल्पिक प्रश्नोत्तर तथा सामूहिक परीक्षण गरी दुई चरणमा सम्पन्न गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटी सभाध्यक्षतामा आयोजित कार्यक्रममा हेटौँडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । जनप्रिय मावि अङ्ग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले संयोजन गरेका हाजिरीजवाफ प्रतियोगितामा स्व.मोहनचन्द्र चौलागाईँका परिवारको उपस्थिति रहेको थियो भने रेडक्रस आबद्ध प्रतिनिधि, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालयभित्र माध्यमिकस्तरीय कविता, रक्तदान कार्यक्रम, विविध खेलकूद प्रतियोगिताहरू आयोजना गरिएकोमा विद्यालयको गरिमालाई अझ उजागर गर्न नगरस्तरीय तथा जिल्लास्तरीय प्रतियोगिताहरूमा समेत विद्यालयले जोड दिँदै गइरहेको संयोजक श्रेष्ठले बताउनुभयो । स्वर्ण महोत्सवको अवसरमा जनप्रिय माविले अक्षयकोष स्थापनाका क्रममा ३० लाख रुपैयाँ बराबरको कोष तयार गर्दैछ भने विद्यालय हाताभित्र स्तम्भ निर्माण गरिएको र जनप्रिय स्मारिका भोल्युम २ प्रकाशनार्थ रहेको प्रअ भुपेन्द्र चौलागाईँले जानकारी दिनुभयो ।







