हेटौंडा, मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषदको संयुक्त आयोजनामा हेटौंडामा सञ्चालित अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सकिएको छ । प्रतियोगितामा शनिबार १६ वटा स्वर्ण पदकको टुंगो लागेको छ । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहको विजेताको टुंगो लागेको हो ।
प्रतियोगितामा पुरुषतर्फ ७५ केजी तौल समूहमा डीजी बक्सिङ क्लबका आयुष श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले सल्यानका दर्शन घर्ती मगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । पुरुषतर्फ ७१ केजी तौल समूहमा निमा दोर्जे तामाङले भक्तपुरका प्रवेश बस्नेतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ ५७ केजी तौल समूहमा बक्समाण्डुका आयुष थापा, ६० केजी तौल समूहमा डीजीबक्सका सौरभ राई, ६३ दशमलव ५ केजी तौल समूहमा मकवानपुरका सोहन राईले स्वर्ण पदक जितेका छन् ।
पुरुषतर्फ ६७ केजी तौल समूहमा आभाष बिक्रम शाहले स्वर्ण पदक जितेका छन् । हेटौंडा–४ पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा विजयी हँदै ५२ केजी तौल समूहमा भक्तपुरकी भावना भण्डारी, ५० केजी तौल समूहमा रेस बक्सिङ क्लबकी युजेन शर्मा, ४८ केजी तौल समूहमा अछामकी निर्मला ऐडीले स्वर्ण जितेका छन् । पुरुषतर्फ ४८ केजी तौल समूहमा अल्फा बक्सिङ क्लबका विशेष बुढा मगर, ५१ केजी तौल समूहमा बक्समाण्डुका प्रवल उप्रेती र ५४ केजी तौल समूहमा दाङमा विवेक देवकोटाले स्वर्ण पदक जितेका छन् । महिलातर्फ ५४ केजी तौल समूहमा बक्समाण्डुकी आंगी शेर्पा, ५७ केजी तौल समूहमा बक्समाण्डुकै प्रिती श्रेष्ठ, ६० केजी तौल समूहमा भूमि बक्सिङ क्लवकी बबिता गोदार क्षेत्री र ६६ केजी तौल समूहमा रेजकी सहिस्ना विष्टले स्वर्ण पदक जितेका छन् ।
विजेता तथा उपविजेता खेलाडीलाई संघ अध्यक्ष दिपेश जोशी र हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १५० पुरुष र २८ जना महिला गरी १७८ जना खेलाडी सहभागी थिए । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी थिए । विधागत प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैया“सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
नयाँ खेलाडीको पहिचान र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ ३० गतेबाट हेटौंडामा नोभिस बक्सिङ सुरु भएको थियो । समापनको सन्दर्भमा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बक्सिङ खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी मेडल प्राप्त गरेका खेलाडी, पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो । यस्तै अक्षयकोष स्थापना गर्न सहयोग पु¥याएकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।






