हेटौंडा , सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा उपमहानगरपालिका भित्र पर्ने दुई प्रमुख राजमार्ग खण्ड विस्तार गर्ने तयारी तीव्र पारेको जनाएको छ। सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कार्यालयले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथका महत्वपूर्ण खण्डमा दायाँ–बायाँ २५–२५ गज सीमा कायम गर्दै सडक विस्तार प्रक्रिया अघि बढाइने जानकारी गराएको हो।
डिभिजन कार्यालयका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीका अनुसार रातोमाटेदेखि मनहरीको लोथरसम्म पर्ने पूर्व–पश्चिम राजमार्ग खण्ड र बुद्धचोकदेखि सामरी पुलसम्मको त्रिभुवन राजपथ खण्डमा पर्ने करिब ५३१ वटा घर तथा टहराहरू हटाइने छन्। अधिकारीका अनुसार निजी संरचना भत्काउनुपर्ने भएकाले कार्यालयले सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा स्थानीय तहसँग समन्वय गर्दै प्रक्रिया अघि बढाएको छ।
यता, जेन–जी मकवानपुरले भने उचित क्षतिपूर्तिको व्यवस्था नगरी कुनै पनि संरचना भत्काउने कदम नचाल्न चेतावनी दिएको छ। बिहीबार डिभिजन प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जेन–जीले लालपुर्जाधारीहरूका घरहरू बलपूर्वक हटाइने सूचना प्रसारित हुन थालेको भन्दै यसअघि मुआब्जा पाएका र पाउन बाँकी व्यक्तिहरूको पूर्ण तथ्यांक सार्वजनिक गर्न माग गरेको छ।
घरधनीहरू पनि सडक विस्तारपछिको मुआब्जाको विषयमा असन्तुष्टि जनाइरहेका छन्। हेटौंडा–२ चौकिटोलका किशोर ढकालले आफ्नो नाममा लालपूर्जा रहेको, नियमित कर तिरेका तथा नक्सा पास गरेर बनाइएको घर भएकाले उचित मुआब्जा बिना भत्काउन नमिल्ने बताए।
डिभिजन कार्यालयका अनुसार हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मको करिब ९.५ किलोमिटर सडक क्षेत्र खाली गर्नुपर्ने छ। सो क्षेत्रमा रहेका २ बैंक, ३ पेट्रोल पम्पसहित अन्य संरचनाहरू पनि हटाइने छन्।
महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घर–टहरा पर्ने अधिकारीले बताए। महेन्द्र राजमार्गको ६.३ किलोमिटर क्षेत्रमा नेपाल बैंक, हिमालयन बैंक र ३ वटा पेट्रोल पम्प समेत प्रभावित हुनेछन्।
अधिकारीका अनुसार सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि सडक विस्तार अनिवार्य भएकाले संरचना हटाउँदा राज्यले क्षतिपूर्ति दिन आवश्यक नपर्ने व्यवस्था लागू हुनेछ।







