हेटौँडा, माघे संक्रान्तिको पावन अवसरमा हेटौँडा अटोमोबाइल एशोसिएसनले हेटौडा–२ स्थित ॐ वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। एशोसिएसनको नवनिर्वाचित कार्यसमितिले मानव सेवामूलक कार्यमार्फत आफ्नो कार्यकालको औपचारिक शुभारम्भ गरेको हो।
एशोसिएसनले आश्रममा आश्रित जेष्ठ नागरिकहरूलाई माघे संक्रान्तिमा परम्परागत रूपमा सेवन गरिने विभिन्न खाद्य सामग्री सहयोग स्वरूप प्रदान गरेको छ। नवनिर्वाचित अध्यक्ष धर्मराज धिमालको अध्यक्षतामा भएको कार्यक्रममा ॐ वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । एशोसिएसनका महासचिव सञ्जयकुमार गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्षहरू सुरेश कुमार श्रेष्ठ, सुदेश कुमार श्रेष्ठ, दामोदर अटल, वरिष्ठ उपाध्यक्ष जितेन्द्र तिवारी, कोषाध्यक्ष दिपेश खड्गी तथा सदस्यहरू विकास नेपाल, सुजन उप्रेती, प्रकाश भट्टराई, देवनारायण दुलाल, दैबज्ञ सुवेदी र निवर्तमान महासचिव दीपेन्द्र उप्रेतीको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्य व्यक्त गर्नु हुँदै पूर्व अध्यक्षहरूले पुण्य कार्यबाट नयाँ कार्यकालको सुरुवात गरिएको भन्दै नवनिर्वाचित कार्यसमितिलाई सफल र प्रभावकारी कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
ॐ वृद्धाश्रमका अध्यक्ष श्रेष्ठले सानो सहयोगले पनि ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै यस्ता मानवीय कार्यहरूले समाजलाई प्रेरणा दिने धारणा व्यक्त गरेका थिए । एशोसिएसनका अध्यक्ष धर्मराज धिमालले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।







