गरिबमुखी कार्यक्रमसहित जनमुखी शासन गर्दैछु : मुख्यमन्त्री बानियाँ

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार आम नागरिकले प्रत्यक्ष महसुस गर्नेगरी काम गर्दै आएको बताएका छन्। गरिबलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित आयमूलक तथा सीपमूलक कार्यक्रमका लागि विपन्न नागरिकलाई बिना ब्याज ऋण उपलब्ध गराउने कार्यविधि तयार भएर अघि बढाइएको उनको भनाइ छ।

ADVERTISEMENT

सोमबार मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले भने, ‘मुख्यमन्त्री हुनासाथै मैले गरिबमुखी, न्यायमुखी, गाउँमुखी, आयमुखी, विकासमुखी र जनमुखी भएर काम गर्ने सपथ खाएको थिएँ। सोहीअनुसार नै काम गरिरहेको छु।’ उनका अनुसार प्रदेश सरकारले एक हजार विपन्न परिवारका लागि घर निर्माण अभियान चलाइरहेको छ। ‘गरिबलाई छाना, खाना र नाना’ भन्ने नारा सहित २ लाख रुपैयाँसम्म बिना ब्याज ऋण प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वमा रहेको सरकारले जिम्मेवार, पारदर्शी र उत्तरदायी शासनको प्रतिमूर्तिको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सुशासन र भ्रष्टाचारमुक्त बागमती प्रदेश निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै उनले बोलेको र गरेकोबीच कुनै अन्तर नहुने दोहोर्याए।

गणतान्त्रिक व्यवस्था असफल भएको भ्रामक प्रचार पछिल्ला दिनमा बढिरहेको उल्लेख गर्दै उनले यस्तो धारणालाई असत्य र भ्रमपूर्ण बताए। ‘गणतन्त्रपछि नै गाउँगाउँमा सडक, पुल र सेवा सुविधामा उल्लेख्य वृद्धि भएको छ। जेनजी पुस्ताले व्यवस्था होइन, अवस्था परिवर्तन चाहेका हुन्,’ बानियाँले भने।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापालगायतले मन्तव्य व्यक्त गरे।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *