हेटौंडा, हेटौंडा–८ राजपानीमा अवस्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको १९औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन हुने सभा तथा प्रदर्शनी कार्यक्रम सहकारीका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षता र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सुरु भएको हो।

सभासँगै सहकारीले स्थानीय उत्पादनहरूको बृहत प्रदर्शनी तथा विशेष छुटसहित बिक्री मेला सञ्चालन गरेको छ। अध्यक्ष बस्नेतका अनुसार संस्थाले उत्पादन गरेका ५० भन्दा बढी वस्तुहरू बिक्रीका लागि प्रदर्शनस्थलमै राखिएको छ। शनिबारसम्म चल्ने मेलामा दैनिक उपभोग्य सामग्री विशेष छुटमा खरिद गर्न सकिने र करिब २० हजार अवलोकनकर्ताहरू आउने अनुमान गरिएको छ।
तीन हजारभन्दा बढी शेयर सदस्य रहेको सहकारीले सदस्यहरूलाई कुल ६ करोड २२ लाख ५९ हजार ४६७ रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाका व्यवस्थापक राजाराम थापाले जानकारी दिए। उनका अनुसार सहकारीको बचत निक्षेप १५ करोड ७८ लाख ४७ हजार ३४९ रुपैयाँ पुगेको छ। आव २०८१/८२ को वित्तीय प्रतिवेदनअनुसार शेयर पुँजी २ करोड ९० लाख ६८ हजार ६ सय रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ लाख ५७ हजार ३९८ रुपैयाँ रहेको छ।
सभामा हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापा, वडा नं. ७ का अध्यक्ष दामोदर गौतम, जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका वरिष्ठ सल्लाहकार रघुरमण न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख समिर श्रेष्ठ, हेटौंडा साकोसका अध्यक्ष इन्द्रबहादुर बस्नेत, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, दिव्यतारा बहुउद्देश्यीय सहकारीका सचिव ईश्वर पण्डित, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख बिमला पोखरेल, लेखा समिति संयोजक रेवतीरमण न्यौपाने, कानुनी सल्लाहकार राधाकृष्ण मैनालीलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।






