सुजन ढकाल
हेटौँडा, हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले नेतृत्वका लागि सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान र प्रविधि सिप अनिवार्य रहेको बताएका छन् । उनले लिडर पदले होइन, व्यवहार, निर्णय क्षमता र जिम्मेवारीबाट चिनिनुपर्ने उल्लेख गरे ।
काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा शनिबार नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको स्कूल लिडर्स विन्टर समिट २०२५ मा सहभागी मकवानपुर जिल्लामा रहेका सामूदायिक तथा संस्थागत विद्यालयका प्राध्यापक तथा सहायक प्राध्यापकहरुलाई सम्बोधन गर्दै प्रिन्सिपल जोशीले किताबमा सीमित ज्ञानले मात्र वर्तमान चुनौती सामना गर्न नसकिने बताए ।
‘हाम्रो पेशागत यात्रामा चुनौती र समस्या आउँछन् र जान्छन्, चुनौती बिना प्रगति सम्भव हुँदैन,’ उनले भने, ‘परिवर्तन चाहनेले निर्णय गरेर त्यसलाई कार्यान्वयन गर्नैपर्छ।’ उनले लिडरले भावनात्मक प्रतिक्रिया जनाउनेभन्दा सोचेर, जिम्मेवार ढंगले उत्तर दिनुपर्नेमा जोड दिए । जिम्मेवारी लिएपछि कुर्चीको गरिमाअनुसार काम गर्नुपर्ने र त्यसो गर्न नसके जिम्मेवारी त्याग्न तयार हुनुपर्ने उनले बताए । अहिलेको युग प्रविधिको युग भएकाले नेतृत्व तहका व्यक्तिले प्रविधिसम्बन्धी सिप आफैंले सिकेर विद्यार्थीलाई पनि सिकाउनुपर्ने उनले बताए । काम गर्दा आलोचना आउनु स्वाभाविक भएको र राम्रो वा नराम्रो काम गर्दा आलोचनाको सामना गर्नुपर्ने उल्लेख गर्दै उनले सफल नेतृत्वका लागि टिमवर्क अपरिहार्य हुने बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्री पाठकले अहिलेको जमनामा प्रधानाध्यापकलाई ५ सय रुपैयाँ भत्ता दिनु सोझै लाजमर्दो कुरा रहेको बताए । साधन स्रोत र व्यवस्थापनमा संस्थागततर्फ बोल्दा खेरी पुग्छ भने सामूदायिक तर्फ धेरैलाई पुज्नुपर्ने चलन रहेको उनले बताए । प्रधानाध्यापक पद प्राज्ञिक र प्रशासनीक भएकाले पदलाई अलग बनाउनुपर्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले व्यवस्थापकीय कार्यभार, शिक्षक उत्प्रेरणा, राजनीति र कर्मचारीसम्बन्धी द्वन्द्वलाई विद्यालय नेतृत्वका मुख्य चुनौतीका रूपमा रहेको प्रस्तुत गरेका थिए । कार्यक्रममा २१औँ शताब्दीका लागि सक्षम र उच्च गुणस्तरको विद्यालय निर्माण विषयमा प्यानल छलफल भएको थियो ।
काठमाडौ युनिभर्सिटी स्कूल अफ एजुकेशनका प्रोफेसर डाक्टर बासुप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको प्यानल छलफलमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्री पाठक, प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर पराजुली, अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरकी प्रमुख उन्नती ढकाल र कमाने एकेडेमीका प्रधानाध्यापक प्रतिमा डंगोल वक्ताको रूपमा रहेका थिए ।
छलफलमा अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक उप्रेतीले संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयको नतिजा कमजोर भएपनि चुनौती पार गर्दै विद्यालयलाई अग्रगतिमा लैजाने प्रयास भइरहेको बताइन्। यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरकी प्रमुख उन्नती ढकालले प्रशासनीक कार्यमा व्यस्तताका कारण विद्यालयमा गएर आन्तरिक मूल्याङ्कनका पक्षहरू पूर्ण रूपमा अनुगमन गर्न नसकिएको बताइन्। कमाने एकेडेमी विद्यालयकी प्रधानाध्यापक प्रतिमा डंगोलले राष्ट्रिय पाठ्यक्रमलाई लागू गरी विद्यालयले छुट्टै पाठ्यक्रम निर्माण गरेको बताइन् ।
उनले कक्षागत शिक्षकलाई सशक्त बनाउन शिक्षण क्रियाकलापमा देखिएका समस्या र अनुभवलाई समेटेर जनरल तयार गराएको र ‘रिफ्लेक्टीभ’ कक्षाहरू सञ्चालन भइरहेको जानकारी दिइन्। कार्यक्रममा थिम आधारित सकारात्मक शिक्षण संस्कृतिको निर्माण, शिक्षण योजना तथा पाठ्यक्रम समन्वय, नेतृत्वमार्फत कक्षा व्यवस्थापन सुदृढीकरण, र विद्यालय नेतृत्वकर्ताका लागि रुब्रिकसम्बन्धी कार्यशाला पनि सञ्चालन भएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, शिक्षा अधिकृत रमेश बिडारी लगायतको आतिथ्य रहेको थियो।






