हेटौँडा, माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यालय बागमतीको परिसरमै स्थापना गरिएको उक्त कार्यालयको बुधबार जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत गीता श्रेष्ठले उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहसँगै श्रेष्ठले औपचारिक रूपमा निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ। कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा सुरु भएको प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो। यसपटक बागमती प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनमार्फत एक जना महिला र एक जना अन्य समूहबाट प्रतिनिधि चयन गरिनेछ। प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशसभाका ११० जना सदस्य तथा प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना समेत गरेर जम्मा ३४८ जना मतदाता रहेका छन्।
मतभारका आधारमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कुल मतभार ४ हजार ५२२ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ५ हजार ८३० रहेको छ। यसरी कुल मतभार १० हजार ३५२ कायम भएको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ। उक्त विद्यालयमा दुई वटा मतदान केन्द्र रहनेछन्। ‘बी’ ब्लकमा मतदान हुने व्यवस्था गरिएको छ भने प्राविधिक भवनमा मतगणना गरिनेछ।
बुधबार नै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले मतदान स्थलको निरीक्षणसमेत गर्नुभएको थियो। प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाइने गरी जम्मा १६ जना कर्मचारी परिचालन गरिनेछ। मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यहरूले सेतो कागजमा हरियो रङको मसिले मतदान गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिहरूले रातो रङको मसि प्रयोग गर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले मतदान समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ।






