कमाने जेसीज कपको सेमिफाइनलमा

हेटौँडा, कमाने फुटबल एकेडेमी मनहरी गाउँपालिका ४ गोलघर खेल मैदानमा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको एक मात्र खेलमा मोडर्न युथ क्लव मनहरी १ लाई टाइब्रेकरमा हराउँदै कमानेले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

ADVERTISEMENT

निर्धारित समय गोलरहित बराबरी भएपछि सिधै टाइब्रेकरमार्फत विजेताको टुंगो लगाइएको हो । खेलमा दुवै टिमले गोल गर्ने केही राम्रो मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । टाइब्रेकरमा कमानेले मोडर्नलाई ३-१ ले हराएको हो । टाइब्रेकरमा कमानेका सुचन थिङ, सन्देश तामाङ र सम्पूर्ण नेवारको प्रहार गोल हुँदा मोडर्नका बिराज लामाले मात्र गोल गरे । मोडर्नका सन्जिव गोलेको प्रहार बार माथिबाट बाहिरिँदा समीर घलानको प्रहार पोष्ट नजिकैबाट गयो । सुजन भोम्जनको प्रहारलाई भने कमानेका गोलरक्षक अर्विन बज्युले बचाए ।

कमानेले बागमती प्रदेश प्रहरीलाई हराउँदै तथा मोडर्नले ढेंडो एफसीको अनुपस्थितिमा स्वतस् खेल जित्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । खेलको म्यान अफ द म्याच कमानेका गोलरक्षक अर्विन बज्यु घोषित भए । जारी प्रतियोगितामा मंगलबार पटिहानी इभेन्ट्स र मनहरी ५ को बीचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यहि कात्तिक १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

चैनपुर जेसीज मनहरीले आयोजना गरेको प्रतियोगितामा मकवानपुर र चितवनका गरी १३ टिमको सहभागिता रहेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *