हेटौंडा, हेटौंडा–४, हुप्राचौरमा स्थापना गरिएको संजिवनी अटिजम केयर सेन्टरको औपचारिक शुभारम्भ गरिएको छ। शुक्रबार सरस्वती पूजाको शुभ अवसरमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले सेन्टरको समुद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन्।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बानियाँले आगामी दिनमा नगरपालिकाबाट बजेट नै विनियोजन गरी अटिजम केयर सेन्टरलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अटिजम भएका बालबालिकाका लागि आवश्यक प्राविधिक सहयोग, थेरापी मेसिन तथा सामग्री उपलब्ध गराउनेतर्फ स्थानीय सरकार गम्भीर रहेको उनले बताए। बालबालिकाको जीवनस्तर सुधारका लागि नगरपालिका पछि नहट्ने स्पष्ट पार्दै, आवश्यक परे बाटोघाटो निर्माणको बजेट कटौती गरेर पनि सामाजिक क्षेत्रमा लगानी गरिने उनको भनाइ थियो। हेटौंडामा अटिजम भएका बालबालिकाको संख्या बढ्दै गएकाले बजेट निर्माणका क्रममा स्थानीय र प्रदेश सरकार दुवैले ध्यान दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा हेटौंडा – ४ का वडाध्यक्ष नवीन सिग्देलले सरकारले सबै काम गर्न नसक्ने उल्लेख गर्दै यस्ता सेवामूलक संस्थाहरूले आवश्यक कार्यविधि पूरा गर्दै अघि बढ्नुपर्ने बताए। पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा पनि जनप्रतिनिधिहरूले समान ध्यान दिनुपर्नेमा उनले जोड दिए। हेटौंडा – १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले कार्यक्रममा नगद पाँच हजार रुपैयाँ सहयोग गर्दै चालु आर्थिक वर्षका दुई महिनाको कोठा भाडा आफ्नै खर्चमा तिरिदिने घोषणा गरे।
वरिष्ठ बाल रोग विशेषज्ञ डा. हरि खड्काले बालिकाको तुलनामा बालकमा अटिजम बढी देखिने तथ्यांक प्रस्तुत गर्दै अटिजम भएका बालबालिकाप्रति राज्यको विशेष ध्यान आवश्यक रहेको बताए। अटिजमको स्थायी उपचार नभए पनि थेरापी नै मुख्य उपचार भएको र यो खर्चिलो हुने भएकाले सबै अभिभावकले सहज रूपमा उपचार गराउन नसक्ने अवस्था रहेको उनले बताए। अटिजम भएका बालबालिकाका अभिभावकहरू सुनिता सापकोटा, प्रमिला लुइँटेल, लक्ष्मी सापकोटा र अस्मिता पौडेलको पहलमा सेन्टर स्थापना गरिएको हो। सेन्टरकी अध्यक्ष सुनिता सापकोटाका अनुसार करिब १६ लाख रुपैयाँ लगानीमा आफ्नै अटिजम भएका बालबालिकालाई लक्षित गरी सेन्टर सञ्चालनमा ल्याइएको हो। हाल सेन्टरमा ९ जना बालक र १ जना बालिका सेवा लिइरहेका छन्। देश तथा विदेशबाट सहयोगी मनहरूले समेत सहयोग गरिरहेको उनले जानकारी दिइन्।
हाल ६ वटा कोठा भाडामा लिएर सञ्चालन भइरहेको सेन्टरमा १६ जनासम्म बालबालिकालाई सेवा दिन सक्ने क्षमता रहेको छ। आवश्यक परे आगामी दिनमा अन्य स्थानमा स्थानान्तरण गर्ने योजना पनि रहेको जनाइएको छ।
कार्यक्रममा सहभागी एक अभिभावकले अटिजम भएका बालबालिकाका कारण परिवारको आर्थिक र सामाजिक सन्तुलन खलबलिने, आमाले रोजगारी छोड्नुपर्ने बाध्यता आउने जस्ता समस्या भोग्नुपरेको अनुभव साझा गरे।
संजिवनी अटिजम केयर सेन्टरका अध्यक्ष डिल्लीराम पोख्रेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौँडा- ५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौँडा- १७ का वडाध्यक्ष उद्धव सत्याल, समाजसेवी रघुरमन न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आशिष दुलालले गरेका थिए।






