हेटौंडा, चितवनमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी हेटौंडाका पाँच जनासहित सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकै परिवारका तीन सदस्य रहेका छन्।
चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार, दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–१७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका छोरा ३५ वर्षीय सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेलको ज्यान गएको हो। यस्तै, हेटौंडा–१० का माइक्रोबस चालक राजु थिङको पनि मृत्यु भएको छ।
दुर्घटनामा रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारीको मृत्यु भएको छ भने मृतकमध्ये एक महिला यात्रुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। डिएसपी खनालका अनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ डडुवामा यात्रुबाहक बस र इभी माइक्रोबस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र हेटौंडाबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी माइक्रोबस ठोक्किँदा पाँच जनाको घटनास्थलमै र थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।







