हेटौँडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सको मुख्य प्रायोजनमा हेटौँडा–८ मा चौथो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको हो। आज भएको उद्घाटन खेलमा कमाने इ–प्लानेट ब्लास्टर ६ विकेटले विजयी भएको छ ।

ब्याटिङ गर्न मैदानमा उत्रेको कमाने एक्सपर्ट भिजन ११ ले १६ दशमलव १ ओभरमा अल आउट हुँदै ९४ रनमा सिमित बन्यो । एक्सपर्टका लागि इरफान अलिले २९ रन, सुजित पटेलले २८ रन र मिराज देवानले १७ रन बनाए । एक्सपर्टलाई सस्तैमा समेट्नको लागि इप्लानेटबाट दिप्सन चौलागाईले ४ विकेट, गौरभ खड्काले २ विकेट र रिसभ चौधरीले १ विकेट हात पार्न सफल भए ।
९५ रनको टार्गेट पाएको इ प्लानेटले १५ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । इ प्लानेटका लागि युविन बुढाथोकीले ६६ रन, सुजन चौलागाईले १४ रन र रिसभ चौधरीले ६ रन जोड्न सफल भए । इ प्लोनटका दिप्सन चौलागाई खेलको म्यान अफ द म्याच घोषित भए । यसैगरी आज भएको दोस्रो खेलमा कमाने रोयल्स ८ विकेट विजयी भएको छ । कमाने रोयल्सले १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ९८ रनमा सिमित बन्यो । रोयल्सका बिबेक कार्कीले ३९ रन, निश्चल रोक्का २७ रन र सुरज भट्टराई नटआउट हुँदै १२ रन बाहेक अन्य खेलाडीले खासै रन जोड्न सकेनन् । रोयल्सलाई सस्तैमा समेट्नका लागि कमाने लायन्सका किशोर खत्रीले ३ विकेट, समिर चौलागाई र अरुन दाहालले समान २ विकेट हात पार्न सफल भए ।

९९ रनको लक्ष्य पाएको लायन्सले १० दशमलव ३ ओभरमा २ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । लायन्सका लागि शुभ कन्साकारले नटआउट हुँदै २० बलको सामना गर्दै ४९ रन बनाए । यसैगरी रमेश लुइटेलले २१ रन र समिर चौलागाईले नटआउट हुादै १८ रन बनाए । रोयल्सका लागि प्रेम क्षेत्रीले २ विकेट हात पार्न सफल भए । खेलमा रोयल्सका शुभ कन्साकार म्यान अफ द म्याच घोषित भए । कमाने क्रिकेट क्लबका सचिव विष्णु दाहालको सभाअध्यक्षतामा तथा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका पुरण बहादुर जोशीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै युवा खेलाडीहरूलाई धन्यवाद दिए। उनले युवालाई खेलकुदसँग जोड्न सहयोग गरेको भन्दै हेटौंडा–८ का वडा अध्यक्ष राम थापाको पनि प्रशंसा गरे। साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई प्रोत्साहनस्वरूप ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्रदान गरिने जानकारी दिँदै उक्त किट हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गर्ने बताए।
प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने खेलमा ६ वटा टिमको सहभागिता रहेको कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिए।प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।
कार्यक्रममा कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीले स्वागत मन्तव्य राखेका थिए। हेटौंडा उपमहानगरपालिका–८ का वडा अध्यक्ष राम थापा, क्लबका सल्लाहकार यज्ञ रायलगायतको उपस्थिति थियो।






