हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पद र प्रचारका लागि होइन, पारदर्शी, उत्तरदायी र जनउत्तरदायी शासनका लागि मुख्यमन्त्री बनेको स्पष्ट बताएका छन्।
नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले जनताप्रतिको गम्भीर जिम्मेवारी बोकेर आफूले कार्यभार सम्हालेको बताए। ‘अरु मुख्यमन्त्रीहरूले के गरे, नगरे भन्नेभन्दा पनि म काम गरेर देखाउने पक्षमा छु,’ उनले भने।
मुख्यमन्त्रीको पद सम्हालेपछि आफूले गरेको पहिलो निर्णय नै प्रदेशभित्रका गरिब, विपन्न र सिमान्तकृत समुदायका लागि केन्द्रित रहेको उनले बताए । प्रदेश सरकारले चेपाङ, दलित, जिरेल, भोटे, बनकरिया लगायत समुदायका छोराछोरीहरूलाई लक्षित गर्दै ६ जनालाई छात्रवृत्तिमा डाक्टर बनाउने निर्णय गरेको छ । जसमध्ये २ जना मेडिकल डाक्टर, २ जना आयुर्वेद डाक्टर र २ जना पशु चिकित्सक रहेको उनले बताए । प्रदेश सरकारले आर्थिक रूपले कमजोर १० जना छोरीहरूलाई नर्सिङ अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरिसकेको पनि उनले जानकारी दिए।
मुख्यमन्त्री बानियाँले आफूले पाउने तलब, भत्ता र अन्य सुविधा नलिने घोषणा गर्दै उनले भने–‘मुख्यमन्त्रीको हैसियतले पाउने सबै सुविधा म आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न, निमुखा जनताको सेवा र हितमा खर्च गर्नेछु।’ उनले सशक्त र संवेदनशील नेतृत्वमार्फत प्रदेशका जनताको हितका लागि प्रभावकारी काम गर्दै जाने प्रतिबद्धता पनि दोहोर्याए।







