हेटौँडा, हेटौँडा–९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो विक्री केन्द्र हेटौँडा–२ स्थित कान्तिराजपथमा सञ्चालनमा ल्याएको छ। यसअघि हेटौँडा–४ स्थित पारिजात पथमा रहेको सहकारीको सेवा केन्द्रलाई शेयर सदस्यलाई सहुलियत दरमा सेवा प्रदान गर्ने उद्देश्यले कान्तिराजपथमा स्थानान्तरण गरिएको सहकारीका अध्यक्ष कुमारप्रसाद पौडेलले जानकारी दिनुभयो।

संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाले विक्री केन्द्रको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष देवकोटाले बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई शेयर सदस्य लक्षित विविध कार्यक्रम तथा सेवामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। ‘अहिलेको युग प्रविधिको युग भएकाले हरेक क्षेत्रमा प्रचार–प्रसार आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘प्रचार–प्रसार नगरे पछाडि परिने जोखिम रहन्छ।’ उहाँले विक्री केन्द्रसँगै डेरीमार्ट सञ्चालन गर्न पनि सहकारीलाई सुझाव दिनुभयो। सञ्चालक समितिमा समय–समयमा परिवर्तन भए पनि शेयर सदस्य स्थायी रहने भएकाले सहकारीको दिगोपनामा उनीहरूको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

सहकारीका अनुसार सेवा केन्द्रमार्फत रड, सिमेन्ट तथा ग्यासको विक्री वितरण गरिनेछ। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, सहकारीका पूर्व अध्यक्ष रामहरी न्यौपाने, निवर्तमान अध्यक्ष जंगबहादुर गुरुङलगायतको आतिथ्य रहेको थियो ।







