हेटौंडा, प्रतिनिधिसभा सदस्य निर्वाचन हुन २१ दिन बाँकी रहँदा बदर मतको संख्या घटाउने उद्देश्यले प्रदेश निर्वाचन कार्यालय हेटौंडाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। कार्यालयले बिहीबार अनुगमनकर्तालाई तालिम प्रदान गरेको छ।
मकवानपुरका प्रत्येक पालिकाबाट एक–एक जना गरी अनुगमनकर्तालाई तालिम दिइएको हो। तालिम प्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाका प्रत्येक वडाबाट एक–एक जनालाई तालिम दिनेछन्। त्यसपछि फागुन ३ गतेदेखि वडा तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमअन्तर्गत प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाता शिक्षा स्वयंसेवकका रूपमा परिचालन गरिनेछ। कार्यक्रमको अनुगमन भने प्रदेश निर्वाचन कार्यालयबाट तालिम प्राप्त अनुगमनकर्ताले नै गर्नेछन्।
मतदान प्रक्रियालाई सहज र सरल बनाउँदै बदर मतको प्रतिशत घटाउने लक्ष्यसहित फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार मकवानपुरका १० पालिकाका १०२ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछन्। स्वयंसेवकहरूले मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिनेछन्। निर्वाचन कार्यालयका अनुसार मतदाता शिक्षा कार्यक्रमले मतदाताको सहभागिता वृद्धि गर्नुका साथै बदर मतको अनुपात न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






