गठबन्धनले बोलेको कुरा पुरा गरेर बिकास गर्छ: मोक्तान

हेटौंडा, नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा भीमफेदी गाउँपालिकामा अहिलेभन्दा तेब्बर बजेट ल्याउँने बताउनुभएको छ । भीमफेदी गाउँपालिका ९ मा बाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरेपछि उहाँले गठबन्धनले बोलेको कुरा पुरा गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

ADVERTISEMENT

‘गठबन्धनको सरकार बनेपछि प्रदेश सरकारले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएकी मोक्तानले भन्नुभयो, ‘अब फेरी गठबन्धन सहितको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउँने छ ।’ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा तत्पर रहेको बताउनुभयो । नेपाली काँग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ को प्रदेशसभा उम्मेदवार ईन्द्र बानियाँले ‘हावादारी’ केपी ओलीले गणतन्त्र नचाहेको र संविधानको समेत बिरोध गरेका कारण माओवादी–काँग्रेस एकजुट भएको बताउँनुभयो ।

‘हामी अहिले गणतन्त्रलाई संस्थागत विकास गर्नेमा छौ, केपी ओली तोड्नेमा छन्, त्यसैले जनताले गठबन्धनलाई जिताउँनुपर्छ,’ उहाँले भन्नुभयो । गठबन्धनमा आबद्ध भएकाले काँग्रेसले पनि माओवादीलाई भोट हाल्नैपर्ने भन्दै यो बेला पार्टी र चुनाव चिन्ह भन्दा गणतन्त्र र संविधान जोगाउन सबै गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । ‘हाम्रो गठबन्धनका उम्मेदवारले विश्वासघात गर्नुहुन्न, तपाईहरु ढुक्कले गठबन्धनलाई भोट हाल्नुहोस्,’ उहाँले भन्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय प्रवक्ता मिलन पुडासैनी, लोकतान्त्रिक बाम गठबन्धन जिल्ला अनुगमन समिति मकवानपुरका संयोजक रामचन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *