हेटौंडा, २२ जेठ/५० औँ विश्व वातावरण दिवसको सन्दर्भमा हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माविले आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरी वातावारण सप्ताहको समापन गरेको छ ।

विद्यमान परिवेशमा वातावरण प्रदुषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले नेपथ्यको धुनको सहायतामार्फत साङ्केतिक नाटक प्रस्तुत गरेका थिए । विश्व वातावरण दिवसका दिन विद्यार्थीहरुले वातावरण सम्बन्धी नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी नवोदय विद्यालयले बस्तीपुर चोक, हटियामा रहेको जनप्रिय उच्च मावि र हेटौंडाको बुद्धचोकमा विविध सांस्कृतिक कार्यक्रम गर्नुको साथै वातावरण सम्बन्धि चित्र बनाएका थिए । विश्व वातावरण दिवसको अवसरमा नवोदय विद्यालय कक्षा ४ मा रहेका विद्यार्थीहरुले मानसचोक, संगमचोक, सानोपोखरा र मनकामना चोकमा वातावरण पुलिस कार्यक्रम सञ्चालन भएको थियो भने आइतबार कक्षा ३ का विद्यार्थीहरुले ¥याली निकाल्नुको साथै पशुपति मन्दिर सरसफाई गरेका थिए ।
यसै वातावरण दिवसको अवसरमा भएको मोवाइल फोटोग्राफी प्रतियोगितामा प्रहस्थ खड्का प्रथम, दृष्टि प्रधान द्वितीय र इप्सा लामिछाने तृतीय भएका छन् । प्रतियोगितामा ९६ जना विद्यार्थीले सहभागिता जनाएको थिए । नवोदय विद्यालयका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । विश्व वातावरण दिवसको अवसरमा हरेक वर्ष नवोदय विद्यालयले विविध कार्यक्रम गर्दै आइरहेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम क्षेत्रीले बताए ।







