हेटौँडा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरमा खटिने निर्वाचन पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुर मा गैरसरकारी संस्था महासंघ मकवानपुर को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न संघ–संस्थाबाट निर्वाचन अनुगमनका लागि खटिएका पर्यवेक्षकहरूलाई निर्वाचन आचारसंहिता तथा उनीहरूको भूमिका सम्बन्धी विस्तृत जानकारी गराइएको थियो। मकवानपुर जिल्लाबाट इन्सेक सहित २६ वटा गैरसरकारी संस्था ९एनजीओ० र ४ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आईएनजीओ० का प्रतिनिधि गरी ३५ जना पर्यवेक्षक खटिएको महासंघकी अध्यक्ष रमिला सापकोटाले जानकारी दिइन्।
कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गर्दै निष्पक्ष, पारदर्शी र जिम्मेवार ढंगले काम गर्न पर्यवेक्षकहरूलाई आग्रह गरिन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पर्यवेक्षकहरूले पालना गर्नुपर्ने नियम तथा मापदण्डबारे स्पष्ट पार्दै विवादरहित र तटस्थ ढंगले अनुगमन गर्न निर्देशन दिए। उनले विगतका निर्वाचन अनुभवहरू साझा गर्दै आगामी निर्वाचनमा विशेष सावधानी अपनाउनुपर्ने विषयहरूमा समेत प्रकाश पारे।
प्रमुख जिल्ला अधिकारी अधिकारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आचारसंहिता विपरीत कार्य गरेको पाइए कानुनी कारबाही गरिने चेतावनी पनि दिए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, महासंघकी उपाध्यक्ष कुमारी वाइबा लगायत निर्वाचन अनुगमनमा खटिने पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो।






