हेटौंडा अस्पतालमा मुटुरोग रोगसम्बन्धी सेवा सुरु

हेटौंडा, हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा सुरुवात भएको छ । मंगलबार त्रिवि शिक्षण अस्पताल काठमाडौंबाट आएका मुटुरोग विशेषज्ञ डा. विकेश श्रेष्ठले सेवाको सुरुवात गरेका हुन् । डा.श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्य मन्त्री किरण थापाको स्वास्थ्य परीक्षण गरेर सेवाको शुभारम्भ गरेका थिए ।

ADVERTISEMENT

सेवा शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौँडा अस्पतालको सेवा सुविधा बढ्दै जानुले प्रदेश सरकारको औचित्यलाई स्वास्थ्य क्षेत्रमा भएको विकासले पुष्टि गरेको बताए । उनले प्रदेश सरकार मातहत आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको बताए ।

त्यस्तै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले सङ्घीयता लागु भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठुलो फड्को मारेको बताए । उनले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले थप मेडिकल उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले जनतालाई सहज हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्दै स्वास्थ्यकर्मीलाई अनिवार्य रूपमा ड्रेस लगाउन पनि सुझाव दिए । स्वास्थ्य मन्त्रालय सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिए । प्रदेशका १३ वटै अस्पताललाई आम नागरिकलाई उत्कृष्ट सेवा दिन उनले आग्रह गरेका थिए ।

टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गर्नुभएका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठबाट हेटौँडा दैनिक रूपमा मुटु जाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । क्याथ ल्याबको अभावले गर्दा अप्रेसन बाहेकका सबै मुटुको उपचार सेवा इसिजी, इको, टीएमटी, हल्टर, एविपी जस्ता परीक्षण हेटौँडाबाटै हुने उनले बताए ।

Advertisement 5

अस्पतालमा मुटु रोग विशेषज्ञ आएपछि मुटुको इको, इसिजी, टिएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । हेटौँडा अस्पतालमा गत २०८० सालमा नै मुटु रोगसम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरण प्राप्त भएको थियो । मुटु रोग विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । रोटरी क्लब मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा एक करोड रुपियाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको रोटरी क्लबका अध्यक्ष अनिल अग्रवालले जानकारी दिए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालित हेटौँडा अस्पतालमा अहिले तीन सय शय्या सञ्चालनमा छन् भने ४५ जना विशेषज्ञ चिकित्सक र तीन स्वास्थ्यकर्मीहरू कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *