हेटौंडा, मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ को आयोजनामा सोमबारदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । वडास्तरीय फुटबल प्रतियोगिताको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं उम्मेदवार पुलामीले खेल क्षेत्रको विकासमा जोड दिइने बताए । उनले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगितामा बागमतीका युवाहरुको सहभागिता हुनुपर्ने बताउदै त्यसका लागि आवश्यक पूर्वाधार, प्रशिक्षणको व्यवस्था गरिने बताए । यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गाउँ–गाउँबाट खेलाडी उत्पादन गर्न पालिकाले खेलकुद प्रशिक्षणलाई जोड दिइने बताए । उनले छिटै नै एक घर एक खेलाडीको अवधारणा ल्याएर खेलकुद विकासलाई उच्चस्तरमा लैजाने बताए ।
वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष कालमान राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली काँग्रेस पार्टी सचिव सुदिप पाख्रिन, नेकपा समाजवादीका धनपति तिमल्सिना, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ५ का वडाध्यक्ष बिजय भ्लोन, २ का वडाध्यक्ष जनक पहरी लगायतको सहभागिता रहेको थियो ।
कात्तिक २५ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ र दोस्रो हुनेले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैबिच, आजबाट सुरु भएको वडास्तरीय फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ । आयोजक टिमले वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । नकआउट हुने फुटबल प्रतियोगितामा बागमती गाउँपालिकाका ९ वटै वडाका १३ वटा टिमको सहभागिता रहेको छ ।






