हेटौँडा, हेटौंडामा एक युवकको होटलको तेस्रो तलाबाट खस्दा मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी निवासी २९ वर्षीय अमित मोक्तानको हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाबाट खसेर ज्यान गएको हो।
प्रहरीका अनुसार मोक्तान सोमबार राति उक्त होटलको तेस्रो तलाबाट खसेका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल हेटौंडा अस्पतालमा उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको थियो। तर मंगलबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
उक्त होटलमा मोक्तानकी पत्नी कार्यरत थिइन् र होटलमै बस्दै आएकी थिइन्। मृतक मोक्तान पत्नीलाई भेट्न त्यहाँ गएका थिए।







