हेटौंडा, जनताको आधारभूत सेवा सुविधालाई प्राथमिकतामा राख्दै हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाले वडाबासीका लागि निःशुल्क खानेपानी, एम्बुलेन्स तथा रगत सेवा उपलब्ध गराउन सुरु गरेको छ। नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको यो पहलप्रति स्थानीयवासीहरूले खुशी व्यक्त गरेका छन्।
वडा कार्यालयले वडाभित्र बसोबास गर्ने नागरिकहरू बिरामी भई जहाँसुकै उपचारका लागि जाँदा लाग्ने एम्बुलेन्स भाडा, उपचारका लागि आवश्यक रगत खरिद खर्च तथा मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। यो निर्णयले विशेषगरी विपन्न तथा आकस्मिक अवस्थामा परेका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवामा सहज पहुँच पुगेपछि आफूहरू निकै खुसी भएको भोर्ले टोल विकास समितिकी सचिव हरिमणी लामाले बताइन्।
वडामा रहेका २१ वटा टोल विकास समितिमध्ये हाल १९ वटा टोल विकास समितिमा यो कार्यक्रम लागू गरिएको छ। टोल विकास समितिमार्फत रकम निकासा गरी व्यवस्थापन गरिने वडा कार्यालयले जनाएको छ। वडाभित्रका २ हजार ३०६ घरधुरीले निःशुल्क खानेपानी सुविधा पाउने भएका छन्।
गत माघ महिनादेखि कार्यक्रम कार्यान्वयनमा आएको जानकारी दिँदै वडाअध्यक्ष सुनिल मोक्तानले आगामी आर्थिक वर्षहरूमा समेत यसलाई निरन्तरता दिइने बताए। हेटौंडा उपमहानगरपालिकाभित्र रहेका १९ वडामध्ये यस्तो कार्यक्रम कार्यान्वयन गर्ने १५ नम्बर वडा पहिलो भएको दाबी गरिएको छ।







