हेटौँडा, हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजु वाईवा र रामशरण गौतमले उम्मेदवारी दिएका छन् । सहकारीको २६ औँ वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा सञ्चालक समिति चयन नभएपछि चैत १३ गतेलाई निर्वाचनको मिति तोकेको हो ।
समितिको उपाध्यक्षमा खडानन्द चौलागाई, दिपप्रसाद अधिकारी र सिताराम प्रधान, कोषध्यक्षमा भीमसेन पौडेल, मोनिका पौडेल र रोजिता दंगाल, लेखा संयोजकमा कविन पन्त र विष्णुप्रसाद अर्जेलले उम्मेदवारी दिएका छन् । हेटौँडा ७ नागस्थित स्थित नवज्योति माध्यमिक विद्यालयमा निर्वाचन सञ्चालन हुने सहकारीले जनाएको छ ।
सहकारीको सञ्चालक समितिको सचिवमा युवराज गौतम, सदस्यमा ध्रुवकृष्ण कुवँर, बिजयता सापकोटा, अम्बिका कार्की, सरस्वती थापा र उर्मिला चौलागाई सर्वसम्मत चयन भएका छन् । हाल हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कुल ६ हजार ९ सय ८२ शेयर सदस्य रहेका छन । तीमध्ये २ हजार ८ सय ५ जना पुरुष, ४ हजार १ सय १७ जना महिला र ६० संस्थागत सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ५ करोड ३ लाख ८४ हजार रुपैयाँ रहेको छ भने कुल कारोबार ५६ करोड ५० लाख १५ हजार रुपैयाँ पुगेको छ ।







