हेटौंडा, हेटौंडा उपमहानगरपालिका–९ गुम्बाचोकस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ११:२५ बजे रातोमाटेतर्फ जाँदै गरेको प्र.३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १८ वर्षीया एकता बैद्य गम्भीर घाइते भएकी थिइन्। दुर्घटनापछि उनी ना ६ ख ३१४५ नम्बरको ट्रकसँग समेत ठोक्किँदा उनको अवस्था झन् जटिल बनेको थियो। उपचारका क्रममा दिउँसो १२:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा मोटरसाइकल चालक १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकल चालक २१ वर्षीय पुष्पलाल गुरुङ मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक तथा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







