मर्मत गरिँदै प्रदेशसभा सचिवालय

हेटौंडा,प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सकिएसंगै बागमती प्रदेशको प्रदेशसभा सचिवालयको भवन मर्मत सम्भारको काम भैरहेको छ । ५ बर्षका लागि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरुको बैठक र कार्यक्रमका लागि पुरानै भवनलाई मर्मत सम्भार कार्य थालिएको हो । प्रदेशसभाको मुख्य प्रवेशद्वार देखि सभामुख, उपसभामुखको कार्यकक्षलाई रंगरोगन र मर्मत सम्भार गरिएको छ ।

ADVERTISEMENT

संसदीय दलका कार्यालयमा पनि मर्मत सम्भार गरेर नयाँ रुप दिने काम भइरहेको छ । प्रदेशसभाको हललाई मर्मत गरेर नयाँ रुप दिन लागिएको बागमती प्रदेशसभाका सूचना अधिकारी शुन्दर बाँस्कोटाले जानकारी दिए । केहि दिनभित्रमा बागमती प्रदेशले प्रत्यक्ष र समानुपातिक गरी ११० जना प्रदेशसभा सदस्य पाउने छ । उनीहरुकै लागि हेटौंडा–१० मा रहेको प्रदेशसभा भवनको मर्मत सम्भार गरिएको हो । प्रदेशसभा सदस्यको सहजताको लागि बस्ने कुर्सीको व्यवस्थापन तथा हलमा फलसिलिङको काम भैरहेको बाँस्कोटाले बताए । प्रदेशसभा बैठक आव्हान हुनुअघि प्रदेशसभा भित्रका सबै काम सक्ने गरी काम भैरहेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुन लाग्दा समेत प्रदेशसभाको आफ्नै भवन निर्माण सम्पन्न हुन सकेको छैन । शिक्षा निर्देशनालयको पुरानै भवनलाई मर्मत सम्भार गरिएको हो । अहिलेको भवन छेउमै प्रदेशसभाको हल निर्माण भइरहे पनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने पक्कापक्की भएको छ । बागमती प्रदेशसभाबाट ५ वर्षको अवधिमा ३ वटा सरकार बनेपनि कुनै पनि सरकारले प्रदेशसभा भवन बनाउन चासो दिएको देखिएको छैन ।

बागमती प्रदेशसभा बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यहरूलाई बैठक कक्षमा छिर्न र निस्कन समस्या हँुदै आएको छ । तत्कालीन शिक्षा निर्देशनालयको भवनमा डोरमणि पौडेलको अध्यक्षतामा २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । निर्वाचनबाट बागमती प्रदेशको ६६ जना प्रत्यक्षतर्फबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् । समानुपातिक तर्फको सिट बाँडफाँड भएपछि आवश्यक प्रक्रिया पूरा गरेर पुसको पहिलो हप्तासम्म प्रदेशसभा बैठक बस्न सक्ने जानकारी दिइएको छ । प्रदेशसभाको नयाँ भवन बन्न अझै एक बर्ष लाग्नसक्ने अनुमान गरिएको छ । २०७९ को वैशाख १ गते सम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । हालसम्म करिब ८० प्रतिशत मात्रै काम सम्पन्न भएको बताइएको छ । भवनको बागमती प्रदेशका तत्कालीन सभामुख सानुकुमार श्रेष्ठले २०७७ मंसिर १० गते भवनको शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *