हेटौँडा, निर्माण व्यवसायी संघ मकवानपुरले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि, कृत्रिम अभाव तथा कार्टेलिङका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै सरकारले तत्काल ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग गरेको छ ।
संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै डिजेल, पेट्रोल, एलपीजी ग्यास, सिमेन्ट, डण्डी, बिटुमिनलगायत निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिका कारण निर्माण व्यवसायीमाथि ठूलो आर्थिक भार परेको जनाएको छ ।
संघका अध्यक्ष बाल गोपाल कंडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा केही निर्माण सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङ गरिएको आरोपसमेत लगाइएको छ । मूल्यवृद्धि र आपूर्ति असहजताका कारण हालको अवस्थामा धेरै निर्माण कार्य सञ्चालन गर्न कठिन भएको संघको भनाइ छ ।
त्यस्तै, सरकारले निर्धारण गर्ने मूल्य सूचकांक ९प्राइस इन्डेक्स० वास्तविक बजार मूल्यअनुसार नभएकाले ठेक्का सम्झौताअनुसार मूल्य समायोजन गर्न समस्या भएको निर्माण व्यवसायीहरूको गुनासो छ ।
संघले वर्तमान अवस्था समाधानका लागि सरकारले तत्काल ‘कन्स्ट्रक्सन हलिडे’ घोषणा गर्नुपर्ने, मूल्य समायोजनको व्यवस्था शीघ्र लागू गर्नुपर्ने तथा निर्माण आयोजनाहरू सञ्चालनका लागि ठोस र व्यवहारिक निर्णय गर्नुपर्ने माग अघि सारेको छ ।
संघले समयमै समस्या समाधान नभए निर्माण क्षेत्र थप संकटमा जाने, आयोजना प्रभावित हुने तथा व्यवसायीहरू आर्थिक रूपमा धराशायी हुने चेतावनीसमेत दिएको छ ।






