‘सरकारले मात्र नभई जनसमूदायले पनि सुशासनमा ध्यान दिनुपर्ने’

हेटौंडा, नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) र डब्लुएचएचको संयुक्त आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सोमबार समापन भएको छ । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा गोष्ठी समापन भएको हो ।

ADVERTISEMENT

समापन गर्दै अध्यक्ष मुक्तानले सुशासनमा सरकारले मात्र नभई जनसमूदायले पनि सुशासनमा ध्यान दिनुपर्ने देखिन्छ । भौगोलिक विकटता सँगै चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरका राक्सिराङ र कैलाशमा नागरिकहरुमा व्यवहार परिवर्तन ल्याउन सके सुरक्षित खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन ल्याउन सकिने बताए । समूदायमा समूह निर्माण गरि दीगोपना कायम गर्ने गरि खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिने समेत बताए । कैलाशमा आरआरएन सँग त सहकार्य जारी रहिरहेको बेला हामीले वाइन टु वाटरसँग खानेपानीको क्षेत्रमा काम गर्न सम्झौता गरिसकेका छौं, अध्यक्ष मुक्तानले भने । गाउँपालिकामा ऐन निर्माण भई कार्यान्वयनको चरणमा रहेको अवस्थामा दीगो विकास लक्ष्य २०३० पुरा गर्न तीन तहको सरकारसँगको सहकार्यमा काम गर्दै अघि बढिरहेको उनले बताए ।

बृहत खानेपानी योजनामा प्रदेश र संघीय सरकारले बजेट विनियोजन हुनुपर्ने तर यहाँ समन्वय र सहकार्यको अभाव रहेको पाइएको छ । साना साना योजनाहरु स्थानीय सरकारले गर्दै आइरहेको अवस्थामा अब काम गर्न दीगोपना दिने सोच र योजना बनाएर अघि बढ्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका प्रवक्ता हरिबहादुर प्रजा र कैलाश १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले तालिममा सिकिएको अनुभव र आगामी दिनमा गरिनुपर्ने कार्यबारे आफ्नो भनाई राखेका थिए । डब्लुडब्लुएचका वास विज्ञ विजु डंगोल,सांग्रीला थापा, मानबहादुर घानामगर, लक्ष्मण जोशी लगायतले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै तालिमलाई सहजीकरण गरेका थिए भने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौंडा क्षेत्रको खानेपानीको अवस्था, व्यवस्थापन, महशुल, ऐन नियमका विषयमा आफ्नो अनुभव व्यक्त गरेका थिए ।

गोष्ठीमा खानेपानी, सरसफाई तथा स्वच्छताको सुशासन, नीतिगत कानून, जलवायू अनुकुलन तथा विपद् जोखिम व्यवस्थापन, तीन तहको सरकारको सहकार्यका विषय, प्रदेश तथा स्थानीय तहका लागि लैंगिक उत्तरदायित्व बजेट विषयक छलफल गरिनुका साथै सामाजिक समावेशीकरणका लक्षित वर्ग, बजेटको विकास, वर्गीकरण, सूचक विषयक छलफल गरिएको थियो ।
कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघ प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट, आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, डब्लुडब्लुएचका वास विज्ञ विजु डंगोल, सांग्रीला थापा, गाउँपालिका राष्ट्रिय महासंघका समन्वय अधिकृत रुपेश दुलाल, प्रशिक्षक मानबहादुर घानामगर, लक्ष्मण जोशीको आतिथ्यता रहेको थियो । कार्यक्रममा राक्सिराङ र कैलाश गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।

Advertisement 5

नेपाल ग्रामीण पुनर्निर्माण संस्था९आरआरएन० र डब्लुएचएचले मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी योजनाहरुमा काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *