हेटौँडा, महिला साहित्यकारहरूको साझा संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरपुञ्जको अध्यक्षमा निरा शर्मा चयन भएकी छिन् । पुञ्ज मकवानपुरको पाँचौं अधिवेशन एवम् चौधौ साधारण सभाबाट शर्माको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो । पुञ्जको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिब एलिजा पुडासैनी, सहसचिव सरिता दाहाल, कोषाध्यक्ष संझना अधिकारी रहेका छन् । यसैगरी सदस्यहरूमा रजनी पौडेल, अनु रोक्का, सिर्जना पौडेल र गोपिनी गौतम चयन भएका छन् ।
आगामी दिनमा संस्थापक तथा पुर्व अध्यक्ष स्वर्गीय अप्सरा तिम्सेनाको सम्मानमा स्मृति ग्रन्थ, आंचल परिचय ग्रन्थ प्रकाशन तथा महिला साहित्यको क्षेत्रमा सिर्जनशील कार्यलाई प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष शर्माले बताइन् । पुञ्जको अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरमा रहेर राष्ट्रिय स्तरमा हास्यब्याङ्ग्य क्षेत्रमा सशक्त योगदान गरेका हास्यब्याङ्ग्यकार आर.सी. रिजाललाई अभिनन्दन गरेको छ ।
साहित्यप्रेमीहरू मुक्ति गोबिन्द बैद्य र हरिबंश भेटवालद्वारा रिजाललाई अभिनन्दन गरिएको हो । कार्यक्रममा साहित्यकारहरूले रचना वाचन समेत गरेका थिए ।







