नवोदय शिशु सदनमा शारीरिक दण्डविरुद्ध अन्तरक्रिया

हेटौँडा, हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा शिक्षक तथा कर्मचारीहरूका लागि शारीरिक दण्डविरुद्धको एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा विद्यार्थीमैत्री वातावरण सुनिश्चित गर्दै शारीरिक दण्डको पूर्ण अन्त्य गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सुरक्षित सिकाइ र सकारात्मक अनुशासनका विविध पक्षमा छलफल गरिएको थियो।

ADVERTISEMENT

कार्यक्रममा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई विभिन्न समूहमा विभाजन गरी विषयगत प्रस्तुति र छलफल गराइएको थियो। समूहगत प्रस्तुतिमा शारीरिक दण्डको अर्थ र परिभाषा, दण्डका प्रकारहरू, लुकेर हुने दण्ड, दण्डका कारणहरू, विद्यार्थीमा पर्ने भावनात्मक असर तथा सिकाइमा पर्ने प्रभाव जस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए। छलफलमा सहभागीहरूले दण्डका कारणहरू र यसले विद्यार्थीको भावनात्मक विकास तथा सिकाइ क्षमतामा पार्ने गम्भीर नकारात्मक असरबारे आफ्ना धारणाहरू राखेका थिए।

शिक्षकहरूले विद्यालयमा सकारात्मक वातावरण निर्माणका लागि सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। शिक्षकहरूले अबका दिनमा सबै विद्यार्थीलाई समान दृष्टिकोणले हेर्ने, सम्मानजनक र सुरक्षित सिकाइ वातावरण बनाउने, सकारात्मक अनुशासनको प्रयोग गर्ने सङ्कल्प गरेका छन्। उनीहरूले विद्यार्थीको भावना र आवश्यकता बुझ्दै निष्पक्ष व्यवहार गर्ने, प्रेरणादायी शिक्षण पद्धति अपनाउने, विद्यार्थीको गोपनीयताको सम्मान गर्दै शिक्षक–विद्यार्थी बीचको विश्वासलाई थप मजबुत बनाउने, शिक्षकहरूले रिसको आवेगमा विद्यार्थीलाई शारीरिक दण्ड दिने, अपमानजनक शब्द वा गाली प्रयोग गर्ने, विद्यार्थीहरू बीच तुलना गर्ने र पक्षपात गर्ने जस्ता नकारात्मक कार्यहरू पूर्ण रूपमा वर्जित गर्ने सामूहिक ऐक्यबद्धता जनाएका छन्।

सहभागी शिक्षकहरूले शारीरिक तथा मानसिक दण्डले विद्यार्थीको आत्मविश्वास घटाउने र व्यवहारमा विचलन ल्याउने कुरामा जोड दिँदै अबका दिनमा परामर्श, स्नेह र संवादमार्फत नै समस्याको समाधान खोजिनुपर्ने निष्कर्ष निकालेका थिए। विद्यालयका शैक्षिक निर्देशक हर्कबहादुर कार्कीले सहजीकरण गर्नुभएको कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका करिव १०० जना शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। विद्यालयले आगामी दिनमा पनि यस्ता विद्यार्थी केन्द्रित र सुधारात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *