हेटौंडा, हेटौंडा १० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले दुर्घटना बीमा बापतको भुक्तानी रकम पाएका छन् । युनाइटेड अजोड इन्सुरेन्स कम्पनीले तुल्सी मेहरका दुई जना विद्यार्थीको दुर्घटना बीमा बापतको रकम भुक्तानी गरेको हो । दुर्घटनाका घाइते विद्यार्थीका अभिभावकलाई सोमबार एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
वीमा रकम पाउनेमा सम्राटसिंह ठकुरीकी आमा सपना केसीले ५ हजार ५ सय रुपियाँको चेक बुझेकी हुन् भने दीपशिखा गोलेका बुबा विकास गोलेले ४८ हजार रुपैयाँ रकम वीमाद्वारा चेक बुझेका छन् । शैक्षिक सत्र २०८१ सालको साउन महिनाबाट दुर्घटना पछिकोे सम्भाव्य जोखिम कम गर्न विद्यार्थीहरुको दुर्घटना बीमा गरिएको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए । विद्यालयमा अध्ययनरत १ हजार २ सय जना विद्यार्थीहरुको दुर्घटना बिमा गरिएको उनले जानकारी दिए ।
विद्यालय क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा विद्यार्थीहरु दुर्घटना हुन सक्ने पक्षलाई ध्यानमा राखी सम्पूर्ण विद्यार्थीहरुको बीमा गरिदिएको उनले बताए । घर, विद्यालयमा दुर्घटना वा जोखिम हुने भएकाले दुर्घटना वीमा आवश्यक भएको विद्यालयका प्राचार्य रघुनाथ खरालले बताए । दुर्घटना वीमा गरेको छोटो समयमा रकम पाइन्छ भन्ने कुरामा आफू अचम्मित भएको उनले बताए । घर, बाटो वा विद्यालयमा विद्यार्थी खेल्ने क्रममा घाइते हुँदा अभिभावकलाई केही रकम पाउँदा राहत मिल्छ,’ प्राचार्य खरालले भने ।
आगामी दिनमा अभिभावकहरुको पनि दुर्घटना बिमा गरिने उनको भनाइ रहेको थियो । वीमा रकमको चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य डा. गोपी बञ्जारा, अचला शर्मा, विद्यालयका शिक्षक, प्रतिनिधिलगायतको उपस्थिति थियो ।